५ देखि १५ लाख सम्मका गोल्डकपको लहर

|

सुनसरी : १४ मंसिरमा सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिताको हुने भएको छ। राष्ट्रिय जागृति क्लब इटहरीले पुस १५ गतेदेिख ११ लाख राशिकैअन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप नामको फुटबल प्रतियोगिता गर्ने भएको हो। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इटहरी गोल्डकप प्रतियोगिता नेपालको फुटबल प्रतियोगिताको इतिहासमा सर्वाधिक पुरस्कार राशिको भएको बताएका थिए। त्यसको एकसाता नबित्दै पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आयोजकले ११ लाख ११ हजार पुरस्कार राशिको प्रतियोगिता आयोजना भयो। 

खप्तड गोल्डकपको पुरस्कार राशिले इटहरी गोल्डकपलाई उछिनेपछि पुस १५ देखि हुने भनिएको ११ लाख राशीको मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप तयारी नपुगेको भन्दै आयोजकले माघ ६ गतेदेखि १२ गतेसम्म पुरस्कार राशि १२ लाख पुर्‍याएर गोल्डकप सम्पन्न गर्‍यो। इटहरी गोल्डकप सम्पन्न भएको एक महिना नबित्दै झापा गोल्डकप आयोजना गरियाे। झापा गोल्डकप आयोजक समितिले सूदूरपश्चिमको खप्तड गोल्डकप र इटहरीको मदन भण्डारी गोल्डकपको विजेता राशीलाई उछिन्दै १२ लाख ५१ हजार राशीको प्रतियोगिताकाे तेस्रो संस्करण सम्पन्न भयो। 

यस्तै, विराटनगरमा मोफसलकै सर्वाधिक राशिको विराट गोल्डकपको पाँचौँ संस्करण आज (अाइतबार ) देखि २६ चैतसम्म आयोजना हुने र बिजेताले १२ लाख ७१ हजार रुपैयाँ नगद पाउने जानकारी गराएको छ। १२ लाख ७१ हजार विजेता राशिको विराट गोल्डकप सुरु हुन नपाउँदै गत साता मात्र बुटवलमा मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उक्त गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले घोषणा गरेको छ। 

१२ लाख ७१ हजार पुरस्कार राशि भएको विराटगोल्डकप आयोजक समितिले तयारी अभावमा बुटवलको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपलाई उछिन्न सकेन।यद्यपि, विराट गोल्डकप टस्टका उपाध्यक्ष सन्तोष बानियाँले आफूहरूले प्रत्येक सहभागी टिमलाई २५ हजारदेखि ५० हजारसम्म प्रोत्साहन रकम उपलब्ध गराउने भएकाले गोल्डकप सर्वाधिक पुरस्कार राशि भएको दाबी गरे। यस्तै मोफसलमा फुटबल प्रतियोगिताको आयोजना गर्दा पुरस्कार राशि वृद्धि गर्नेको होडबाजी रहेको प्रस्‍ट हुन्छ।

गतवर्ष मोफसलमा भएकमा फुटबल प्रतियोगिताको बिजेताले सात लाखसम्म पुरस्कार पाएका थिए। यसवर्ष त्यसको दोब्बर बढी पुरस्कार राशिको गोल्डकप सुरु भएको छ। कम पुरस्कार राशिको गोल्डकप आयोजना हुँदा क्लबहरूआउन नमान्ने गरेको बताउँदै एन्फाका पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानियाँ पुरस्कार राशि वृद्धिले क्लबहरुलाई पनि सुविधा पुग्ने बताउँछन्। 

सर्वाधिक पुरस्कार राशिको गोल्डकप गर्ने लहरले मोफसलको फुटबलले गति लिनेमा ढुक्क हुने अवस्था आएको उनको बुझाइ छ। झापाका वरिष्ठ फुटबल प्रशिक्षक एवं झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले एन्फाले लिग नगरिरहेको अवस्थामा सर्वाधिक पुरस्कार राशिको गोल्डकप हुनु सुखद भएको बताए।पछिल्लो समय प्रतियोगिताको भावना बढेर आएकाले सर्वाधिक पुरस्कार राशिको गोल्डकपको लहर चलेको आलेको बुझाइ छ। 

पूर्वमा हुने ठूला गोल्डकपको प्राविधिक संयोजनकर्ता एवं वरिष्ठ फुटबल प्रशिक्षक दिलिप राई नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले लिग नगरिरहेको अवस्थामा मोफसलमा हुने सर्वाधिक पुरस्कार राशिको गोल्डकपको लहरले नै फुटबलको इज्जत धानेको बताउँछन्। उनले विजेताले हात पार्ने पुरस्कार राशि खेलाडीसम्म पुग्ने यस्ता प्रतियोगिताले खेलाडी पलायन रोक्ने दाबी गरे। पुरस्कारको विजेता राशि र विगत पुरस्कारको राशिसमेत बढाउनुपर्ने उनको सुझाब छ। 

विधागत पुरस्कार वृद्धिमा जोड

मोफसलका फुटबल पदाधिकारी तथा प्रशिक्षकहरू गोल्डकप विजेताले प्राप्त गर्ने पुरस्कार राशि वृद्धिमा देखिएको होडबाजीले क्लवहरूको स्तर बढाउन सहयोग मिल्ने बताउँछन्। जति बढी पुरस्कार राशिको गोल्डकप आयोजना हुन्छ त्यति नै बढी क्लबहरूको जित्ने मनोबल बढ्ने भएकाले खेलको स्तर बढ्ने उनीहरूको बुझाइ छ। 

विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गरेसँगै विधागत पुरस्कारमा पनि वृद्धि हुन आवश्यक रहेको उनीहरूको भनाइ छ। मोफसलका हुने ठूला प्रतियोगिताहरूमा प्रत्येक खेलको म्यानअफ द म्याचलाई ५ देखि १५ हजारसम्म पुरस्कार दिने गरिएको छ। यस्तै, विधागततर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकलाई १५ हजारदेखि २५ हजारसम्म नगद दिने गरिएको छ। 

विधागत रूपमा दिइने यस्ता पुरस्कार राशिमासमेत वृद्धि गर्नुपर्ने पूर्वका हुने ठूला गोल्डकपको प्राविधिक संयोजनकर्ता एवं वरिष्ठ फुटबल प्रशिक्षक दिलीप राईको सुझाब छ। विधागत पुरस्कार वृद्धिले खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने भएकाले पुरस्कार राशिसँगै खेलाडीलाई दिइने विधागत पुरस्कार राशिमा पनि वृद्धि हुनुपर्ने उनको भनाइ छ। झापाका वरिष्ठ फुटबल प्रशिक्षक एवं झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले विजेताको पुरस्कार राशि र विधागत तर्फको पुरस्कार राशि दुवैमा सँगसँगै वृद गरिनुपर्ने बताउँछन्। 

झापा गोल्डकपमा विधागततर्फ बढी रकम

१२ लाख ५१ हजार पुरस्कार राशि भएको तेस्रो संस्करणको झापा गोल्डकपमा विधागततर्फ उत्कृट भएका खेलाडीहरूलाई धेरै रकम दिएको पाइको छ। खेलाडी तथा क्लबहरू सबैलाई फाइदा पुगोस् भन्ने उद्देश्वले नै आफूहरूले उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एउटा मोटरसाइकल प्रदान गरिएको छ। प्रतियोगिताका विधागततर्फ उत्कृष्ट हुनेहरूलाई ३१÷३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको झापा जिल्ला फुटबल संघका अध्यक्ष आलेले बताए। यस्तै, खेलमा हाइस्कोरर गर्नेलाई नगद ५१ हजार रुपैयाँ प्रदान गरियो। प्रत्येक खेलको म्यानअफ द म्याचलाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। 

झापा गोल्डकप बाहेक यसै वर्ष मोफसलमा भएका इटहरी गोल्डकप, दुहबी गोल्डकप, बुढासुब्बा गोल्डकप, काँकडभिट्टा गोल्डकप, सुरुगा गोल्डकपमा प्रत्येक खेलको म्यानअफ द म्याचलाई १० देखि १५ हजार र विधागततर्फ २५ हजार नगद पुरस्कार प्रदान गरिएको रेकर्ड छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.