संकटा क्वाटरफाइनल प्रवेश

|

विराटनगर : विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा सोमबार आयोजक मोरङ–११ र झापा–११ बीच प्रतिष्पर्धा हुँदैछ।

आइतबार भएको खेलमा संकटा क्लब काठमाडौं प्रतियोगिताको क्वाटर फाइलनमा प्रवेश गरेको छ। संकटाले पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई १–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलको यात्रा सुनिश्चित गरेको हो।

निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयको १३औं मिनेटमा कंकटाले गोल जित पक्का गर्‍यो। संकटाका लक्ष्मण रुचालको क्रस पासलाई अफ्रिकन खेलाडी जिब्रेलले भली गर्दै पोस्टको दिशा दिँदा संकटाले वियजी यात्रा तय गरेको हो। 

संकटाको फिनिसिङ पक्ष कमजोर हुँदा जितका लागि उसले अतिरिक्त समय कुर्न परेको थियो। कोलकाताको तुलनामा गोल गर्न पाएका धेरै अवसर उसले सदुपयोग गर्न सकेन। पोस्ट एट्याकलाई जारी राखे पनि संकटाले गोल गर्न पाएका आधा दर्जनभन्दा बढी सुन्दर अवसर खेर फाल्यो। १५औं मिनेटमा लक्ष्मण रुचालको पासमा जिब्रेलको प्रहार क्रसबारमाथिबाट बाहिरियो। ३६औं मिनेटमा लक्ष्मणको हेड प्रहारले पनि पोस्ट देखेन। ५३औं मिनेटमा लक्ष्मणकै प्रहारमा कोलकाताका गोल रक्षक अविजित सरदार बाधक बने। ६०औं मिनेटमा संकटाका युसुफको प्रहारले विपक्षी बार तोड्न सकेन। रिबाण्डपछि प्रहार गरिएको बललाई पनि गोलरक्षकले रोकिदिए। ६४औं मिनेटमा जिब्रेलको प्रहार कोलकाताका गोलरक्षकले क्लियर गरिदिए। 

संकटाको तुलनामा कोलाकाताले अवसर कम सिर्जना गर्न सक्यो। तर पाएका अवसरमा विपक्षी बार तोड्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो। खेलको सुरुवाती १३औं मिनेटमा आमिर हुसेनको पासलाई जोत मासीले गोलमा परिणत गर्न नसक्दा संकटालाई दवावमा राख्ने कोलकाताको सपना पूरा भएन।

थप गरिएको अतिरिक्त समयको २७औं मिनेटमा डिबक्सभित्रबाट नोट्री जेम्सले गरेको प्रहार दायाँ बार हुँदै बाहिरियो। त्यस लगत्तै केके फ्रयाङकोइसको प्रहार संकटाका गोलरक्षक सागर पियाको हातमा पुग्यो। रिबाण्ड भएको बललाई गोलरक्षक पिया विट भएको अवस्थामा नोट्री जेम्सले प्रहार गरे पनि नवीन गुरुङले क्लियर गरिदिँदा संकटा ठूलो संकटबाट बच्यो। अन्तिम समयमा पाएका राम्रा अवसरले पोस्टको दर्शन गर्न नसक्दा कोलकाता स्तब्ध बनेर घर फर्कियो। 

कोलकाताका प्रशिक्षक अनन्त घोसले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए। कटारी गोल्डपको उपविजेता टिम संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रिँदा पनि नतिजा हात लाग्नु गर्वको कुरा भएको बताए। 

खेलको म्यान अफ दी म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए। उनलाई प्रदेश १ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले १० हजार नगद पुरस्कार प्रदान गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.