|

  • हेमन्त केसी

जाजरकोट : नलगाड नगरपालिका–८ की विष्णु खत्री ०४४ सालमा भैंसी गोठमा बच्चा जन्माएकी थिइन्। पाँच सन्तानको जन्म गोठमा असुरक्षित रुपमै दिएको उनले बताइन्। 

विष्णु पहिलो पटक सुत्केरी भएको करिब ३० वर्ष बितिसकेको छ। यतिका लामो समय बिते पनि उक्त गाउँमा सुत्केरी गराउने तरिकामा भने परिवर्तन आउन सकेको छैन। विष्णुकी बुहारी कैशी खत्रीले पनि सासुआमाजस्तै असुरक्षित सुत्केरी हुन बाध्यता रहेको बताइन्। श्रीमान् रामवहादुर खत्री र छोरा रबिन खत्री रोजगारीका लागि भारत भएका कारण चार घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था जान नसकेको उनले बताइन्। 

यस गाउँमा महिलाहरु कैशीजस्तै असुरक्षितरुपमा सुत्केरी हुन बाध्य छन्। स्वास्थ्य संस्था टाढा रहेको र सडक सञ्जाल गाउँसम्म नजोडिएकाले असुरक्षित प्रसूति गर्न बाध्य भएको स्थानीयको गुनासो छ । 

जिल्लाको बारेकोट गाउँपालिका–६ धुमाकी कल्धरी चलाउनेले बुहारी गाउँमै सुत्केरी भएको बताइन्। धुमादेखि सिलिङीचौर स्वास्थ्य संस्था पुग्न करिब पाँच घण्टा लाग्छ। सडक नभएकाले घण्टौं पैदल यात्रा गरी स्वास्थ्य संस्था जान नसक्ने भएकाले घरमै असुरक्षितरुपमा सुत्केरी गराउन बाध्यता रहेको उनीहरुको गुनासो छ। 

जिल्लाका अधिकांश गाउँमा स्वास्थ्य संस्था मात्र होइन, बिरामी बोक्ने स्टेचर पनि छैन। त्यसैले बिरामीलाई डोकोमा बोक्न बाध्य हुनु परेको जुनिचाँदे गाउँपालिका जुनीका हिमाल घर्तीले बताए। स्वास्थ्य संस्था जान र आउन मात्र एक दिन लाग्ने भएकाले अधिकांश महिलाहरु गर्भ जाँच गर्न नजाने गरेको उनले बताए। स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउँदा मात्र स्वास्थ्य संस्थाबाट उपलव्ध गराइने भिटामिनलगायतका औषधि दिइन्छ।

स्वास्थ्य संस्था टाढा हुँदा अधिकांश गर्भवती महिलाले निजी स्वास्थ्य क्लिनिकबाट परामर्शबिना औषधि सेवन गर्दा उनीहरुको स्वास्थ्यमा समस्या आएको सरोकारवालाको भनाइ छ। स्वास्थ्य संस्थासम्म पहुँच नभएकाले यस क्षेत्रका बासिन्दा धामी, झाँक्रीको शरणमा पुग्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.