राहत पर्याप्त हुन नसकेको गुनासो

|

सुनसरी : आगलागीमा आइतबार घरवार गुमाएका सुनसरीको कोसी गाउँपालिका-६ को यादव बस्तीका १५ परिवारको विचल्ली भएको छ। पीडित परिवारलाई  जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्कालका लागि वितरण गरेकाे राहत पर्याप्त नभएको पीडितहरूको गुनासो छ। 

आगलागीमा ८ परिवारका १७ घरका सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि उनीहरूको विचल्ली भएको थियो। पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार १० /१० हजार राहत वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। गहु थ्रेसर गर्ने क्रममा सल्केको आगोले देबकिसुन यादव, सञ्जय यादव, उमेश यादव, रामकिशुन यादव, जगदीश यादव, पुरन यादव, नारायण बडबडिया, कृष्णलाल वनेबार सहितको घर जलेर नष्ट भएको थियो। 

आगलागीपश्चात घरबार गुमाएका अग्निपीडितलाई विभिन्न संघ संस्थाले तत्काल केही राहत उपलब्ध गराए पनि पर्याप्त भने हुन सकेको छैन। आगलागीमा बालबालिका, महिला तथा वृद्धवृद्धा बढी समस्यामा देखिएको पीडित पुरन यादवले बताए। पीडित परिवार अहिले छिमेकीको शरणमा बसेका छन्। 

लत्ताकपडा, खानेकुरा र सुरक्षित बसोबासको अभावजस्ता समस्यासँग पीडितले जुध्नुपरेको गुनासो छ। सीमावर्ती गाउँ भएकाले भारतीय दमकलसहित इनरुवा र इटहरीबाट पुगेका दमकलले सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। बाक्लो बस्ती र फुसका बढी घर रहेको भन्दै स्थानीयले हावाहुरीको समय भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखी गाउँपालिकाले दमकल खरिद गर्नु आवश्यकता औँल्याएका छन्।

गत वर्षका पीडितको नै विचल्ली 

सुनसरीमा बर्सेनि आगलागीका घटना दोहोरिने गरेका छन्। फागुन/ चैत महिनादेखि आगलागी घटना बढी हुने गरेका छन्। अधिकांश ग्रामीण क्षेत्रमा बढी घरछाप्रा जलेर नष्ट हुने गरेका छन्। सुनसरीमा गत वर्ष भएका आगलागीबाट पीडित बनेकाले भरपर्दो सहयोग अझै पाएका छैनन्। गत वर्ष दक्षिणवर्ती गाविस अमडुवामा भएको आगलागीमा १ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको थियो। १ सय २ घरटहरा जलेका थिए। ५५ परिवारको विचल्ली भएको थियो।

सरकारले र अन्य संस्थाबाट केही राहत वितरण भएपनि पीडितले घर बनाएर बस्न सक्ने गरी सहयोग नपाएको वडा १ का कपिल रायले गुनासो गरे। रायले तत्काल केही राहत पाए पनि घर निर्माण गर्ने गरी कतैबाट राहत नपाएको बताए। यस्तै रामनगर भुटाहामा ६ घर जलेका थिए। 

रेडक्रस र जिल्ला दैवीप्रकोप उद्धार समितिले दिएको त्रिपाल, भाँडाकुँडा बाहेक आफूले केही नपाएको स्थानीय सञ्चारकर्मी लुकमान अन्सारीले बताए। यसवर्ष पनि आगलागीका घटना सुरु भइसकेको छ।

४ चैतमा पनि बाहृक्षेत्र नगरपालिका ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो। आगलागीमा ५० परिवारका ७० घर नष्ट भएका थिए। पीडितहरुको अहिले पनि विचल्ली छ। तत्काल राहत पाए पनि दीर्घकालीन रुपमा कुनै योजना चालिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.