बुटवल : अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गाको खोजी गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोली रुपन्देही आएको छ। काठमाडौंको मूलपानी, कीर्तिपूर र भक्तपुरमा स्थलगत अवलोकनपछि रुपन्देही आएको टोलीले रुपन्देहीको भैरहवा र सैनामैना क्षेत्रमा अवलोकन गरेको हो।
टोलीले सैनामैना नगरपालिका-७ स्थित लम्टिया खेल मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालाको अध्ययनपछि प्राविधिक रूपमा उपयुक्त हुने स्थानमा रंगशाला निर्माण हुने बताएको छ। प्राविधिक रविभुषण झासहितको टोलीले रुपन्देहीका दुई स्थानको अवलोकन गरेको हो। टोलीले सैनामैनामा पर्याप्त जग्गा रहेको र नगरपालिकाले पनि सकारात्मक प्रतिक्रिया दिएकाले प्राविधिक हिसाबले अध्ययन गरेर निर्णय लिने बताएको छ।
टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पनि रंगशाला निर्माणबारे छलफल गरेको छ। ‘हामीले धेरै स्थानमा अवलोकन गरेका छौँ र ती ठाउँमा बनाउनुपर्यो, हामी साथ दिन्छौँ भनेर स्थानीयले भनेको अवस्था छ, झाले भने, ‘हामीले जुन ठाउँमा प्राविधिक हिसाबले उपयुक्त देखिन्छ, त्यही ठाउँमा रंगशाला बनाउनेछौँ।’ लम्टिया खेल मैदान ६५ बिगाहामा फैलिएको छ। उनले यो जमिन स्टेडियमका लागि पर्याप्त हुने बताए।
धुर्मस सुन्तली फाउन्डेसनले बनाएको खाका अनुसार अन्तर्राष्ट्रियस्तरको स्टेडियम ४० हजार दर्शक अट्ने क्षमताको हुनेछ। रंगशाला निर्माणलाई अभियानकै रूपमा अघि बढाउने सोच टोलीको छ।
‘यो साझा अभियान हो, नेपालीको भावना र चाहना बोकेको अभियान हो, नेपाली क्रिकेटले फड्को मार्दै गरेको छ,यसका लागि हामीसँग पर्याप्त मैदान छैनन्, खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ, कलाकार तथा अभियन्ता सीताराम कट्टेलले भने, ‘सरकारसँग समन्वय गरेर सबैलाई साथ लिएरै स्टेडियम निर्माण गरिनेछ।’ उनले रुपन्देही क्रिकेटका लागि उर्वर भूमिको रूपमा परिचित भएको भन्दै खेलाडीको सम्मानकै लागि आफूहरूले रंगशाला बनाउने सोच बनाएको बताए।
‘सबैका भावनालाई सम्बोधन गर्नेछौँ, चाहना सबैको छ, तर यो प्राविधिक विषय भएकाले प्राविधिकहरुले हरेक हिसाबले सही देखेपछि त्यहीँ नै निर्माणमा लाग्नेछौं, जहाँ बने पनि हामी सबै नेपालीको लागि बन्नेछ, साझा मैदान बन्नेछ’ उनले भने, ‘भैरहवामा पनि खेल्ने हिसाबमा राम्रो स्टेडियम रहेछ, तर परिकल्पनाअनुसार निर्माण गर्न सकिन्छ या सकिदैन भन्ने हामीले प्राविधिकहरुसँग छलफल गरेर टुंगो लगाउँछौँ।’
टोलीसँगको छलफलका क्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले रंगशाला निर्माणका लागि पूर्णरूपमा सहयोग गर्ने वचन दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।