|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउतले यस प्रदेशलाई प्राविधिक शिक्षाको क्षेत्र बनाउन सरकार लागेको लागिपरेको बताएका छन्। समाजिक विकास मन्त्रालयले जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने बताउँदै अबको दिनमा प्राविधिक शिक्षामा जोड दिएका हुन्।

मुख्यमन्त्री राउतले प्राविधिक शिक्षाका लागि सिटिइभिटीले विभिन्न बखेडा झिक्ने गरेकोले प्रदेश सरकारको नीतिबमोजिम प्राविधिक शिक्षालयले निश्चित मापदण्डअनुरुप अनुमति दिने व्यवस्था सिटिइभिटीलाई गर्नुपर्नेसमेत बताए। प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफँैमा दक्ष हुने तथा प्रदेश तथा मुलुकलाई समेत फाइदा हुने भएकाले प्रदेश सरकार आफ्नो नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिए।

प्रदेश–२ का रामस्वरुप रामसागर बहुमुखी क्याम्पसहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याती प्राप्त गरेको भएपछि पछिल्लो समयमा धाराशायी हुनुमा सबै पक्षको उत्तिकै जिम्मेवार रहेको औँल्याउदै उनले भने, ‘तराई मधेसमा त्यो २० वर्ष अघिको शिक्षा खोइ, त्यसलाई खोज्नुपर्‍यो, पुनः स्‍थापित गर्नुपर्‍यो र त्यो साखलाई फर्काउनुपर्‍यो अनि मात्र गुणस्तरीय शिक्षा पाएको अनुभूति हुनेछ।’

शिक्षालाई पुनः त्यो ख्याती स्थापित गर्न प्रदेश सरकार तथा स्थानीय सरकारले नियमित निरीक्षणको भूमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लाग्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए।

प्रदेश–२ मा मात्र २ लाखभन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक उदेक लाग्दो रहेको बताउँदै उनले भने, ‘सबै बालबालिकालाई विद्यालयमा पुर्‍याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत ल्याउनुपर्छ, दलित बालबालिकालाई विशेष शिक्षा योजनासहित सफल कार्यान्वयनका लागि स्थानीय निकायले सहयोग गर्नुपर्नेमा जोडसमेत दिए।

समाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उदघाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दहाल, समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेती, प्रदेशका मुख्यसचिव राजेश्वरमान सिंहसहितका वक्ताहरुले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.