भारतीय सरकारी टोलीसँग शनिबार भेट्ने

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। मन्त्री, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संचारकर्मी, सरकारी कर्मचारीसहितको टोली भारतको तीन दिने राजकीय भ्रमणका लागि जान लागेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली भारत भ्रमणमा जान लागेको हो। प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि जानेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो औपचारिक भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पारिसकेका छन्। उनले बुधबार भएको पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा कुनै सन्धि सम्झौता नहुने तर पहिला भएकाको कार्यान्वयन हुने बताएका छन्। तर भारतीय प्रधानमन्त्री मोदी र ओलीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

उनी शुक्रबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नेछन्। भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी सिधै राष्ट्रपति कार्यालय पुग्ने कार्यतालिका रहेको ओलीको सचिवालयले जनाएको छ। त्यहाँ रहँदा उनले भारतीय राजनीतिक दलका नेताहरूसँग भेटघाट, भारतीय उद्योगी व्यवसायीसँग छलफल तथा त्यहाँ रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम रहेको छ। ओलीले भातीय समकक्षी मोदीसँग पनि छलफल गर्नेछन्।

शनिबारचाहिँ प्रधामन्त्रीको महत्त्पूर्ण भेटघाट रहेको ओलीको सचिवालयले जनाएको छ। स्रोतले भन्यो, ‘शुक्रबारभन्दा पनि शनिबार धेरै महत्त्वपूर्ण कार्यक्रमहरू रहेका छन्। शनिबार हाम्रो सरकार र भारतीय सरकारबीच भेट हुन्छ। शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई प्रधानमन्त्रीले भेट्नुहुनेछ।’

भ्रमणका क्रममा प्रधानमन्त्रीसहित १५ जनाको टोली भारतीय राष्ट्रपति भवनमा बस्नेछ। अन्य भने अरू नै ठाउँमा बस्ने स्रोतले बतायो। प्रधानमन्त्री आइतबार स्वदेश फर्कनेछन्। उक्त दिन टोलीले भारतको उत्तराखण्डको पन्तनगरस्थित गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमण गर्नेछ र त्यही दिन साँझ स्वदेश फर्कने कार्यक्रम छ। टोलीमा मुख्य सचिव लोकदर्शन रेग्मीसहित ४५ जना सरकारी टोली रहनेछन् भने अन्य व्यवसायी र विभिन्न संचार माध्यमबाट झन्डै ३५ जना पत्रकारहरू पनि भ्रमणमा जानेछन्।

कोको मन्त्री जाँदै छन्?

प्रधामन्त्रीको भ्रमण टोलीमा तीन मन्त्री सहभागी हुँदै छन्। भ्रमण टोलीमा सहभागी हुने मन्त्रीहरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन्।

यी सांसद जाँदै छन् भ्रमणमा

संघीय संसदका दुवै सदनका गरेर नौ जना सांसद भ्रमण टोलीमा सहभागी हुनेछन्। सांसदहरू दीनानाथ शर्मा र रामेश्वर राय यादव, राष्ट्रिय जनता पार्टीबाट शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम नेपाल पार्टीबाट विमल श्रीवास्तव भ्रमणमा जाने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। त्यस्तै, एमालेबाट सांसदहरू गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर र शान्ता चौधरी रहेका छन् । कांग्रेसबाट सांसदहरू उमा रेग्मी र सीताराम महतो भ्रमण टोलीमा सहभागी हुँदै छन्।

व्यवसायी कोको परे?

प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब दुई दर्जन व्यवसायी पनि जाँदै छन्। यसरी भ्रमणमा जाने व्यवसायीहरूमा भवानी राणा, शेखर गोल्छा, चन्द्र ढकाल, प्रबलजंग पाण्डे, ज्ञानेन्द्रलाल प्रधान, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ, दीपक मल्होत्रा, इच्छाराज तामाङ, नरेश श्रेष्ठ, भाष्करराज कर्णिकार, निरज राई, भीमलाल पौडेल, डा. अन्जान शाक्य र उर्मिला श्रेष्ठलगायत छन्।

प्रशासनिक क्षेत्रबाट कोको छन्?

प्रशासनिक क्षेत्रबाट पनि मुख्य सचिवसहितको टोली भ्रमणमा जाँदै छ। प्रधानमन्त्रीको टोलीमा मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयकै चिफ अफ प्रोटोकल दीपक अधिकारी जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे पनि टोलीमा सहभागी हुनेछन्।

प्रधानमन्त्रीको सचिवालयबाट भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार डा. कुन्दन अर्याललगायत पनि भ्रमण टोलीमा परेका बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.