|

लहान : बेमौसमी वर्षात र हुरी बतासले भट्टामा पकाउन तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौँ रुपैयाँको क्षति भएको छ। वर्षाले भट्टामा पकाउन सुकाएर तयारी अवस्थामा राखिएको इँटा गल्दा जिल्लाका करिब ५६ वटा भट्टा व्यवसायीहरुले दुई करोड रुपैयाँ बढीको क्षति भएको गुनासो गरेका हुन्।

‘वर्षातले काँचो इँटा गल्दा व्यवसायीहरु आर्थिक रूपले नोक्सानी भएको छ,’ सिरहा इँटा उद्योग व्यवसायी महासंघका अध्यक्ष तथा श्रीसागर इँटा उद्योगका सञ्‍चालक विक्रम साहले भने। 

गोलबजारस्थित सगुन इँटा उद्योगका सञ्‍चालक तथा महासंघका रामसगुन यादवका अनुसार हुरी बताससँगै परेको वर्षाले गल्दै गरेको इँटाको चाङ ढलेर कामै नलाग्ने भएको छ। ‘यो वर्ष इँटा बनाउने मुख्य समयमै वर्षा भएपछि इँटा व्यवसायीहरु ठूलो मारमा परेका छन्,’ यादवले भने।   

स्थानीय गणपति र न्यू गणपति इँटा उद्योगका सञ्‍चालक कृष्णा सिंहले भने ‘इँटा व्यवसायीहरूका लागि जेठ असारसम्म  मुख्य सिजन भएकाले धेरै काँचो इँटा भट्टामा हाल्न तयारी गरिएको थियो, पानीले गलेर काम नलाग्ने भएको छ।’ 

जिल्ला अध्यक्ष साहका अनुसार प्रतिगोटा काँचो इँटा तयारीका लागि मजदुरको पारिश्रमिक, माटो, पानीलगायतको मूल्य जोड्दा लागत मूल्य दुई रुपैयाँ पर्न जान्छ। ‘राज्यले व्यवसायीसँग कर मात्र लिने गरेको गुनासो गर्दै साहले भने, ‘प्राकृतिक प्रकोपले समस्या पर्दा राज्यले पनि हेर्नुपर्‍यो, अन्यथा जिल्लाका कतिपय व्यवसायीहरूको व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.