|

चितवन : प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गरेका छन्।

चेपाङले बनाएको प्यारामोटर तथा निर्माणाधीन मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले पैसाको अभावमा कुनै काम नरोकिने विश्वास दिलाए। चितवनकाे भरतपुरमा शुक्रबार सरोजसँगकाे भेटमा मुख्यमन्त्री पौडेलले भने, ‘तपाईंमा क्षमता छ, नआत्तिनुस्, निर्धक्क भएर काम गर्नुहोस्, पैसाको कारणले काम रोकिँदैन।’

चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि सुरु औद्योगिक प्रदर्शनीमा सहभागी हुन मुख्यमन्त्री पौडेल चितवन पुगेका थिए। प्रदर्शनीको उद्घाटन समारोह सकिएपछि मुख्यमन्त्रीले चेपाङसँग भेट गरे। प्रदर्शनीमा चेपाङको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको छ। उक्त औद्योगिक प्रदर्शनीमा प्रदेश ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले चेपाङको प्रतिभाको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 

चेपाङले प्रदर्शनीस्थलमै अाफूले बनाएकाे प्यारामोटर देखाउँदै भने, ‘हजुरहरू सबैले मलाई सहयोग गर्नुहोला, मसँग मिनी जहाज बनाउने पैसा छैन।’ चेपाङले पर्याप्त पैसा भए चार महिनामा मिनी एयरक्राफ्ट उडाएर देखाउने दाबी पनि गरे। 

चितवनको राप्ती नगरपालिका- २ गड्यौलीका चेपाङले स्थानीय स्रोत र साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर चैत ४ गते उडाएका थिए।

६ कक्षासम्म मात्र अध्ययन गरेका चेपाङले एक महिना लगाएर एक्लै प्यारामोटर निर्माण गरेको बताए। प्यारामोटर निर्माण गर्न मोटरसाइलको एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लज, ब्याट्री, स्टिल,आलमुनियम र काठको पंखा प्रयोग भएको थियो।

परीक्षण स्वरूप चेपाङले उडाएको प्यारामोटर ४० मिनेटसम्म आकाशमै घुमेको थियो। मिनी जहाज बनाउने याेजनामा रहेका छाेराका लागि आर्थिक अभाव भएकाे भएको उनकी आमा लीला प्रजाले बताइन्।

चेपाङ अहिले चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा प्यारामोटर र निर्माणाधीन मिनी एयरकाफ्ट लिएर बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.