|

काठमाडौं : आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन। संसदमा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो।

अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन्। तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन छ।

ठाकुर, महतो र यादव सर्वसम्मत संसदीय दलको नेता बन्न खोजेका छन्। निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत विवादकै कारण राजपा नेपालले संसदीय दलको नेता छान्न नसकेको हो। पटक–पटक बैठक बसे पनि सर्वसम्मत नेता छान्न पार्टी संसदीय दल असफल बनेको हो।

ठाकुर र महतोले संसदीय दलको नेता बन्न पार्टीभित्र तीव्र लबिङ गरे पनि यस विषयमा केही बोलेका छैनन्। उनीहरूले दलको नेता छिट्टै चयन हुने बताउँदै आएका छन्। प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा राजपा नेपालका दुई सांसद छन्। ठाकुर र महतो निकटका नेताले पार्टीभित्र लबिङ गरिरहेका छन्।

ठाकुर निकटका एक नेता विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक ठाकुर भएकाले उनलाई नै नेता चयन गरी पार्टीलाई बलियो बनाउनुपर्ने बताउँछन्। तर, महतो निकटका नेताले पार्टीलाई तीव्र रूपमा अगाडि बढाउन संसदीय दलको नेता महतो हुनुपर्ने बताउँछन्। पार्टीलाई बलियो बनाउँदै संसद्मा खरो रूपमा उत्रिन महतो दलको नेता नभइनहुने अवस्था रहेको उनीहरूको तर्क छ।

राजपा नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्ष्यतर्फ निर्वाचन जितेका ११ सांसदमध्ये ५ सांसद पुरानो सद्भावना पार्टीका हुन्। महतो, लक्ष्मणलाल कर्ण, प्रमोद साह, रेशम चौधरी, चन्द्रकान्त चौधरी पुरानो सद्भावनाका भएकाले महतोको पक्षमा रहेका छन्।

ठाकुर र एकबाल मियाँ पुराना तमलोपाका नेता हुन्। बाँकी चार सांसद शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा पुराना चार पार्टीका अध्यक्ष हुन्। महेन्द्रराय यादव आफू नभए ठाकुरलाई समर्थन गर्ने पक्षमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.