शारदा शर्माको नयाँ उपन्यास कम्प सार्वजनिक

|
फोटो : अमृता लम्सालको फेसबुक

काठमाडौं : बसन्तऋतु २०७२ ले शारदा शर्माका साथै नेपालीका लागि भुकम्प बोकेर ल्यायो। त्यहीँ सालको चिसो शिशिरले भने शारदाका लागि एक दुखद परिस्थिति भिरेर विदा भयो। उनका पति नरहरि आचार्यलाई मस्तिष्कघात। भूकम्पका परकम्प सहदै र नरहरिलाई स्याहार्दै उनले लेखन कार्यलाई जारी राखिन्।

उनलाई सासुआमाको निधन भएपछि सुनेको गरुड पुराणले लेख्न घचघच्याएको थियो। उनले पहिलेदेखि नै लेख्दै गरेको विषयमै 'भूकम्प' आयो। उनले पहिलेभन्दा अलि साहसी हुँदै अलि जब्बर हुँदै उपन्यास लेखनलाई पूरा गरिन्। शारदाले उपन्यासको नाम दिइन् 'कम्प', जसको सोमबार रसियन कल्चर सेन्टरमा उनकी आमा राधाकुमारी शर्माले विमोचन गरिन्।

आध्यात्मिक र धार्मिक चिन्तनलाई वर्तमानसित जोडेर लेखिएको पाएको प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले बताए। उनले शारदाले पुस्तकमा गरुड पुराणको मूल कुरालाई पुनर्लेखन गरेको बताउँदै भनिन् 'हामी आफ्नो सांस्कृतिको संरक्षण गर्ने भन्छौं तर त्यसले मानवीय मूल्यलाई खत्तम गरेको छ भने र संस्कृतिको आडमा विकृति भयो भने त्यसलाई पनि बदल्नुपर्छ। जुन यो उपन्यासमा बदलिएको पाइन्छ।'

शारदा शर्माको उपन्यास कम्प नायिका प्रधान रहेको पुस्तक प्रकाशक  डा. अर्चना थापाले बताइन्। 'अन्य उपन्यासमा जस्तो नारी पात्र कसैकी छोरी श्रीमती आमा दिदी बहिनी भएर नआएकोले यसमा नारी पात्र स्वतन्त्र परिचय लिएर आएको' अर्चनाले बताइन्।

उपन्यासका पात्रको लैंगिक पक्ष केलाएकी अर्चनाले 'पुरुष पात्र महानायकको रुपमा नभई मानवीय गुण दोष सहित प्रस्तुत गरिएको' बताइन्। उनले नर्कलोकलाई सुन्दर रुपमा प्रस्तुत गरिएको भन्दै धार्मिक पुनर्लेखनको प्रयास गरिएको बताइन्। वर्तमान नेपालको स्थिति देखाउन नर्कलाई बिम्ब बनाइएको उनको धारणा थियो।

उपन्यासले नेपालको वर्तमान अवस्थालाई व्याख्या गरेको लेखक खगेन्द्र संग्रौलाको धारणा छ। उनले भने 'उपन्यासमा नर्कको बयान गरिएको भएपनि त्यो नेपालको बयान हो। उपन्यासलाई नरकको कथा भनिएको छ तर यो नेपाललाई नरकमा टाँसेर भनिएको कथा हो।' नेपालको वर्तमान पुनर्संरचनालाई उपन्याससँगै जोड्दै खगेन्द्रले भने 'शारदाले नरकको धर्माधिकारीको न्याय निर्णयलाई पुनर्संरचना गर्ने महिलाको निर्माण गरेकी छन्।'

खगेन्द्रले यो उपन्यास नेता, वकिल र पत्रकारले पढ्नुपर्ने बताए। उनले भने 'हामीमाथि हुकुम चलाउने नेताहरु, लोकमान बनाउने र लोकमानबाट प्रताडित हुने नेताहरु, वकिलहरु जो नर्कमा पनि भ्रष्टाचार गर्छन् अनि पत्रकारहरु जो नर्कमा पनि दुराचार गर्छन् तिनीहरुले पढ्नुपर्छ।'

छोरी शारदालाई आशिर्वाद दिन उपस्थित भएका बुबा महेश्वर शर्माले 'उपन्यासमा आध्यात्मिक चिन्तन केलाइएकाले यसलाई उपनिषद् भन्न रुचाउँछु' भने। 'मान्छे आउने जाने निश्चित नभएको रहस्यमय लोकमा अध्यात्म चिन्तन बोक्नुका साथै समाजमा भएका, आँखाले देखेका कुरा यो किताबमा आएको' उनले बताए।

किताबको प्रस्थानबिन्दु भूकम्प रहेको लेखक शारदा शर्माले बताइन्। 'पात्रहरुले पृथ्वी लोकदेखि परलोकसम्म यात्रा गरेको' उनले बताइन्। उनले उपन्यासको विमोचन आमाबाट गराउनुको रहस्य खोल्दै भनिन् 'पुस्तककी प्रमुख पात्रा आमा हुन्। पृथ्वीलोकको वेदना सहदै नर्कलोकमा धर्मराजलाई चुनौती दिने पात्रा उहाँलाई नै यो कृति विमोचन गर्न लगाएँ।' उनले उपन्यासमा प्रसस्त कल्पना र श्वैरकल्पनाको प्रयोग गरिएपनि राज्यव्यवस्था, समाज र धर्मबाट पीडित जीवन्त पात्रहरु नै प्रमुख रहेको बताइन्। सांग्रिला प्रकाशनले बजारमा ल्याएको ३६२ पृष्ठको यस उपन्यासको मूल्य ४४८ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.