विगतका सन्धिहरू पुनर्विचार गर्नेमा सहमत भएका छौँः ओली

|

काठमाडौं : राजनीतिक स्थायित्व प्राप्त भएपछि नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न भारत सकरात्मक देखिएको छ। छिमेकी राष्ट्र भारतको तीनदिने राजकीय भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले नेपालको समृद्धिको यात्रामा भारतीय सहयोगबारे सकरात्मक छलफल भएको बताएका हुन्।

पत्रकार सम्मेलनको सुरुमा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको रिमोटबाट उद्घाटन गरिएको थियो। त्यस्तै, भारतले निर्माण गरेको वीरगन्ज संयुक्त चेकपोष्टको पनि उद्घाटन गरिएको थियो। उक्त चेकपोस्ट भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई हस्तान्तरण गरेका थिए।

नेपाली भाषामा आफ्नो मन्तव्यको सुरुवात गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न भएको तीनवटै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएका थिए। उनले नेपालले सफतापूर्वक सम्पन्न गरेको निर्वाचन नेपालका लागि ठूलो सफलता भएको बताएका थिए। उनले नेपालको लोकतान्त्रले नेपालमा सफल रुपमा अवतरण गरेको बताए।

 निर्वाचनबाट नेपालले सन् २००६ मा सुरुवात गरेको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याएको मोदीको भनाइ थियो। उनले अब नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेको बताए। नेपालको राजनीतिक प्रगति देखेर भारत खुसी भएको मोदीको भनाइ थियो। 'छिमेकी देशको नाताले यो उपलब्धि भारतका लागि ठूलो खुसीको कुरा हो' मोदीले भने।

नेपालका प्रधानमन्त्री ओलीले आफूलाई नेपालको पछिल्लो राजनीतिक परिवर्तन र अबको यात्राबारे विस्तारमा बताएको मोदीले जानकारी दिए। उनले भने, 'तीव्र आर्थिक विकासको लक्ष्य लिएर अगाडि बढेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र खुसी नेपालीको बारेमा विस्तारमा बताउनुभएको छ। यसलाई साकार गर्नका लागि भारत कसरी सहयोग गर्नसक्छ भन्नेबारे हामीबीच छलफल भएको छ।'

उनने प्रधानमनत्री ओलीको समृद्ध नेपाल खुसी नेपाली र आफूले भारतमा चलाएको सबका साथ सबका विकास अभियान पुरक बनेको पनि बताए। दुवै देशको जनताको साझा उद्येश्य र माग सुख शान्ति र समृद्धि भएको बताए।

उनले नेपालको विकासमा भारत सहयोग गर्छ भन्नेबारे प्रधानमन्त्री ओलीलाई भरोसा दिलाएको बताए। नेपालको विकास र मृद्धिमा भारत सरकारले सहयोग गर्ने त्यसमा पनि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका आधारमा सहयोग गर्ने मोदीको भनाइ थियो।

सगरमाथाको देशलाई सागरसम्मको बाटो, दिल्ली-काठमाडौं रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले अब सागरसम्मको सम्बन्ध विस्तार गर्नेबारे ओलीसँग छलफल भएको बताएका छन्। उनले भारतले नेपाललाई समुद्रसम्म जोड्न एक्स्ट्रा कनेक्टिभिटी हुने बताए।

त्यसबाट नेपाल ल्यान्ड लिंक्ड मात्रै नभएर वाटर लिंक्ड पनि बन्ने मोदीको भनाइ थियो।

त्यस्तै मोदीले काठमाडौंलाई दिल्लीसँग जोड्न रेललाइन बिछ्याउने सहमति भएको पनि बताएका छन्। त्यस्तै यसपहिले भएका आयोजना निर्माणलाई तिव्रता दिने सहमति भएको मोदीको भनाइ थियो। उनले तेलको पाइपलाइन र तराइमा भारतीय सहयोगमा निर्माणाधिन सडकको निर्माणलाई तीव्रता दिइने बताए।

दुवै देश कृषिमा आधारित भएकाले त्यसमा दुवै देशले लगानी गर्नेबारे छलफल भएको मोदीको भनाइ थियो।

आफ्नो भनाइको अन्तिममा मोदीले ऊर्जामा लगानीबारे ओलीसँग छलफल भएको बताए। उनले अरुण तेस्रो, पञ्चेश्वर, सप्तकोशी र सुनकोशी नदीमा भारतीय लगानीमा ऊर्जा उत्पादन गर्नेबारे छलफल भएको र ती आयोजनालाई तीव्रता दिनेबारे सहमति भएको बताए।

मोदीले नेपाल भारतबीचको खुला सीमाना जीवन्त पुल भएको भन्दै त्यसलाई प्रयोग गरेर हुने सुरक्षा चुनौतीबारे पनि छलफल भएको बताए।

मोदीले बुद्ध सर्किट र रामायण सर्किट बनाउनेबारे पनि सहमति भएको बताए। उनले ओलीको भारतीय भ्रमणले दुवै देशको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिएको बताए।

हामीलाई भारतको सहयोग र सहकार्य चाहियो: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चुनावमार्फत दशकौं लामो संक्रमणकाल अन्त्य गरेको र अब आर्थिक समृद्धिमा लाग्ने बताएका छन्। उनले नेपालले आर्थिक समृद्धिको यात्रा अघि बढाएको र समृद्ध नेपाल खुसी नेपाली नारा अगाडि बढाएको बताए।

ओलीले नेपाल र भारतबीच विश्वासका आधारमा उदाहरणीय मित्रता होस् भन्ने आफूले चाहेको बताए।

भारतले पछिल्ला दशकहरूमा आर्थिक विकासका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेकाले अब त्यसबाट नेपालले पनि लाभ लिनुपर्ने ओलीको भनाइ थियो। उनले नेपालको पनि भारतको जस्तै आर्थिक समृद्धि अबको यात्रा हुने बताए।

ओलीले नेपाल र भारतको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन्। उनले त्यसलाई अझै अगाडि निरन्तरता दिनुपर्ने बताए। त्यस्तै, ओलीले प्रबुद्ध समूहले दिएको सुझावका आधारमा नेपाल र भारतबीच भएका दुईपक्षीय सन्धि सम्झौता पुनर्विचार गर्न मोदी र आफू सहमत भएको बताए।

ओलीले नेपालमा भारतीय सरकार र नीजि क्षेत्रको लगानीका लागि आग्रह गरेको बताए। उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी चाहिएको बताए। उनले जारी परियोजनाहरू अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कर्णाली तथा यस्ता परियोजनामा लगानी चाहेको बताए। त्यस्तै सीमापार विद्युत लाइन जडानका लागि भारतले खेलेको भूमिकाको ओलीले प्रशंसा गरेका थिए।

ओलीले वर्षताको बेला तराईमा हुने सधैको बाढीको समस्याबारे दीर्घकालिन समाधान खोज्नुपर्नेबारे छलफल भएको बताए।

ओलीले मोदीसँग सीमापार सडक र रेल सेवा विस्तारबारे छलफल भएको बताए। त्यसमा दुवै देश सहमत भएको ओलीको भनाइ थियो।

भूकम्पपछिको पुनर्निर्माणमा भारतले गर्ने भनेको सहयोगबारे पनि कुरा भएको ओलीको भनाइ थियो। त्यसमा भारत सरकार सकरात्मक भएको ओलीको भनाइ थियो।

मोदीले नेपाललाई समुदसम्म पुग्ने सुविधा दिने भन्ने सुविधाबारे खुसी लागेको बताए। कृषि क्षेत्रमा हुने लगानीबारे पनि आफूहरूबीच छलफल भएको ओलीको भनाइ थियो।प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

सम्बन्धित समाचार :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.