|

उदयपुर : उदयपुरको भित्री मधेसमा पर्ने एक प्रमुख बजार मानिन्छ, नेपालटार बजार। महाभारत र चुरे पर्वतको फेदीमा पर्ने नेपालटार बजार जस्ता पाताले बनेका घरहरूले चिटिक्क देखिन्थ्यो। त्यही उदयपुरढी गाउँपालिका- ६ मा पर्ने नेपालटार बजारमा जस्ता, इँटा, माटोले बनेका घर क्षणभरमै खरानी भए।

गत शनिबार राती एक्कासि लागेको आगोले नेपालटार कुरूप बन्यो अर्थात नेपालटार अग्नि शोकमा पर्‍यो। ‘बजार मात्र खरानी भएन, जसको घरबाट आगो लाग्न सुरु भयो, त्यही घरकी बुढीआमालाई पनि खरानी बनाएर छाड्यो’, अागलागीबारेमा स्थानीय बोधकुमार घिमिरेले भने, ‘आगो र पानीको भर हुन्न भन्थे,आगोले खरानी बनाएर छाड्यो, यहाँकाे अागाेले उखान सावितै गर्‍यो।’

सखुवाका काठका खाँबा, ढुँगा, इँटा, माटोले बनेका पर्खाल भएका झुरुम्म परेको वस्तीमा एक्कासि आगलागी हुँदा १२ घर स्वाहा भए। घिमिरेका अनुसार स्थानीय नारायण तामाङको घरबाट सल्केको आगोले नारायणकी ८४ वर्षीया आमा बाटीमाया तामाङलाई समेत खरानी बनायो। ‘नारायणजीकी आमा कान नसुन्ने, आँखा नदेख्ने हुनुहुन्थ्यो’, घिमिरले थाहाखबरसँग भने, ‘घरको भुइँको तल्लो तलाबाट आगोको धुवाँ आएपछि सबै जना भाग्दै कराउन थाले। सबै एकाएक बेहोस भएछन्, आमाको खोजी भएन, आगो नियन्त्रणमा आएपछि सबैले खोज्यौँ, भेटेनौँ, बिहान आमाको केही अस्थिरपञ्जर मात्र फेला पार्‍यौँ।’

राती ११ बजेदेखि ३ बजेसम्म लागेको आगोबाट १० घर परिवारका १२ वटा घर जल्दा छ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारी अधिकारीको अनुमान छ। ‘जलेका अधिकांश घरमा होटल र पसल थिए’, घिमिरेले भने, ‘घरमा भएजति सबै खरानी भएछ।’ 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीयवासी, प्रहरी, कटारी र त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो। नारायणको घरमा धामी राख्दा आगो सल्केको प्रहरीको भनाइ छ भने स्थानीयले एक्कासि नारायणकै घरबाट आगो लागेको बताउँदै आएका छन्। ‘दु:ख परेको बेला के दोष दिनु’, एक स्थानीयले भने, ‘धामीले दियोलगायतका बत्ती बालेर हिँडेछन्, त्यहीबाट आगो लाग्न सुरु भएको हो, कसलाई के भन्नु?’

कति क्षति भयाे?

अधिकांश घरका अन्नपात, भाँडावर्तन, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। उदयपुरगढी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक ईन्द्रदेव यादवका अनुसार प्रत्येक घरमा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। नारायण तामाङको भने एक करोड १८ लाख ५३ हजार रुपैयाँ बराबर क्षति भएकाे छ।

नारायणाको घरमा विभिन्न उपभोग्य सामानको पसल थियो। यसैगरी टंक श्रेष्ठको ५० लाख ५३ हजार, भरत कार्कीको १६ लाख ५० हजार, वीरबहादुर तामाङको पाँच लाख, तिलकुमारी दाहालको २५ लाख, नवराज कार्कीको ३० लाख, रमेश खतिवडाको पाँच लाख २१ हजार, निर्मला विक र होम विकको २६ लाख ५० हजार, टीकामान तामाङको १६ लाख २० हजार रुपैयाँ बराबरकाे क्षति भएको उदयपुरगढी प्रहरी चौकीका प्रमुख असई यादवले जानकारी दिए। 

‘प्रहरी चौकी उदयपुरगढीले गरेको क्षतिको विवरण संकलनअनुसार ठूलो क्षति भएको छ’, यादवले भने, ‘यसमा कति नगद, कति सुनचाँदी जल्यो भन्ने विवरण संकलन गर्न सकेका छैनाैँ, अहिले सबै अग्नि शोकमा छन्।’

चिउरा, चामल, त्रिपाल र भाडाँवर्तन राहत

आगोले खरानी भएको जानकारी आउनासाथ सदरमुकाम गाईघाटबाट जिल्ला रेडक्रस उदयपुर र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले राहत बाँडेको छ। रेडक्रम उदयपुरले भाँडावर्तन, लत्ताकपडा, त्रिपाललगायतका आधारभूत अतिआवश्यकीय राहत वितरणा गरेकाे रेडक्रस उदयपुरका सभापति विनोद बस्नेतले जानकारी दिए। यसैगरी त्रियुगा उद्योग वाणिज्य संघ चिउरा, चामल, दाल तथा खाद्यान्न वितरण गरेको अध्यक्ष गजेन्द्र भगतले बताए। 

उदयपुरगढी गाउँपालिका- ७ ले प्रति घर परिवार तीन हजार रुपैयाँ र जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रति घर परिवार पाँच हजार रुपैयाँका दरले मृतकको काज किरियाका लागि २५ हजार रुपैयाँ राहत वितरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए। ‘अन्य व्यक्तिगत रूपमा पनि सहयोग गर्ने धेरै रहेका छन्’, उनले भने, ‘सबैको विवरण मलाई ठ्याक्कै याद भएन।’

हेर्नुहोस् फोटो :

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.