भागबण्डा नमिल्दा ९ सय ७१ केन्द्रीय पद खाली

|

काठमाडौं : महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन असफल भएका छन्।

महाधिवेशन भएको दुई महिनाभित्र सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेस विधानमा व्यवस्था भए पनि गुटगत विवादका कारण महाधिवेशन भएको ६ महिनामा पनि केन्द्रीय कार्यसमितिले पूर्णता नपाएको हो। पार्टीभित्र मौलाउँदो गुट-उपगुट र समूहका कारण सभापति देउवाले केन्द्रीय कार्यसमितिमात्र होइन विभिन्न विभाग, प्रतिष्ठान र समितिलाई पूर्णता दिन सकेका छैनन्।  

नेपाली कांग्रेसको विधान, २०१७ मा केन्द्रीय कार्य समितिको आकार ८५ सदस्यीय हुने भनिएको छ। महाधिवेशनले ६४ जनालाई केन्द्रीय कार्य समितिमा निर्वाचित गरेको छ। बाँकी २१ जना सभापतिले मनोनित गर्नुपर्ने हुन्छ। सभापति देउवाले २१ मध्ये ११ जनालाई मात्र केन्द्रीय कार्यसमितिमा मनोनित गरका छन्। 

१३ औँ महाधिवेशनमा गुट समीकरण

२०७२ साल (फागुन २१-२३) मा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तीनवटा प्यानल निर्वाचनमा थिए।

एउटा गुटको नेतृत्व तत्कालीन पार्टी नेता शेरबहादुर देउवा, दोस्रो गुटको नेतृत्व तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल र तेश्रो गुटको नेतृत्व तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए। 

देउवाले नेतृत्व गरेको गुटले महाधिवेशनमा सबैभन्दा बढी सिट जित्यो भने पौडेल नेतृत्वको गुटले महामन्त्री र कोषाध्यक्षमा सिट सुरक्षित गरे। सिटौला गुटले भने कुनै पनि सिट जित्न सकेन।

गुट, गुटमाथि उपगुट

महाधिवेशनको चुनावी प्रतिष्पर्धामा तीनवटा मात्र गुट देखिएपनि अहिले खुमबहादुर खड्काको गुट पनि सक्रिय छ। त्यस्तै सभपाति देउवा गुटमा विमलेन्द्र निधिको उपगुट प्रभावशाली बन्दैछ।

पौडेल गुटमा भने पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र डा. रामशरण महतले उपगुट खडा गरेर असन्तुष्ट पक्षभित्र पनि दबाब सिर्जना गरिरहेका छन्। 

उपगुटको नेतृत्व गरिरहेका नेताहरुसँग (महामन्त्री बाहेक) केन्द्रीय सदस्य नभएपनि सांसदहरु भने छन्। उपगुटले गुटमा र गुटले पार्टीमा दबाब सिर्जना गर्दा सभापति देउवाले सांगठानिक निकायलाई पूर्णता दिन नसकिरहेका मात्र होइन, उनी गुटहरुको स्वार्थमा रुमलिएका छन्।

पार्टीभित्र कुनै पनि विषयमा निर्णय लिन निर्वाचित केन्द्रीय सदस्यको भूमिका महत्वपूर्ण हुन्छ। ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यमध्ये सभापति देउवासँग हाल २८ जना मात्र छन्।

पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्ता तीन महत्वपूर्ण पदमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नै सभापतिले नाम प्रस्ताव गर्नुपर्छ। त्यस्तो प्रस्ताव निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्छ। आफ्ना हरेक प्रस्ताव पारित गर्न बहुमत चाहिने भए पनि सभापति देउवासँग बहुमत छैन जसका कारण कुनै न कुनै गुटको सहारा लिनुपर्ने दबाबमा देउवा छन्।

त्यस्तै पौडेल गुटमा २७ जना, खड्का गुटमा पाँच र सिटौला गुटमा एक जना छन्। त्यस्तै, देउवा गुटसँग मिलेर चुनाव जितेका तर नेता खड्कासँग निकट सम्बन्ध भएका ३ जना भने खुल्न सकेका छैनन्।

पौडेल गुटबाट देउवा गुटमा गएर केन्द्रीय सदस्य निर्वाचित भएका कुलबहादुर गुरुङले पनि बेग्लै उपगुट सञ्चालन गर्दै आएका छन्। तर उनले सभापति देउवालाई नै असहयोग गर्ने संकेत भने देखाएका छैनन्। सभापति देउवाले मनोनित गरेका ११ जनामध्ये आफ्नै गुटबाट ६, सिटौला गुटका ३, पौडेल गुटका १ र गुट नखुलेका १ जना छन्।

यस्तो छ कांग्रेसमा गुट राजनीति

देउवा गुटमा - २८

पौडेल गुटमा - २७

खड्का गुटमा - ५

सिटौला गुटमा - १

देउवा र खड्का दुवैसँग निकट - ३ 

संस्थापन पक्ष

१. सभापति – शेरबहादुर देउवा

केन्द्रीय सदस्यहरु 

२. एनपी (नारायणप्रकाश) साउद

३. कुलबहादुर (केवी) गुरुङ

४. गोपालमान श्रेष्ठ

५. चन्द्र भण्डारी

६. पूर्णबहादुर खड्का

७. डा. प्रकाशशरण महत

८. प्रदीप गिरी

९. बालकृष्ण खाँड

१०. विश्वप्रकाश शर्मा

११. विमलेन्द्र निधि

१२. रमेश लेखक

१३. ज्ञानेन्द्र बहादुर कार्की

१४. अम्विका बस्नेत

१५. डा. डीला संग्रौला

१६. भिष्मराज आङदेम्बे

१७. रमेश रिजाल

१८. सुरेन्द्रराज पाण्डे

१९. जीवनबहादुर शाही

२०. बीरबहादुर बलायर

२१. बहादुर सिंह (लामा) तामाङ

२२. सीता गुरुङ

२३. मीन विश्वकर्मा

२४. मानबहादुर विश्वकर्मा

२५. लक्ष्मी परियार

२६. सुजाता परियार

२७. महेन्द्र यादव 

२८. फरमुल्लाह मन्सुर

पौडेल पक्ष

१.  महामन्त्री डा. शशांक कोइराला

२.  कोषाध्यक्ष सीतादेवी यादव

केन्द्रीय सदस्यहरु

३. धनराज गुरुङ

४. डा. नारायण खड्का 

५. प्रकाशमान सिंह

६. बद्री पाण्डे

७.  बलबहादुर केसी

८. महेश आचार्य

९. डा. मिनेन्द्रप्रसाद रिजाल

१०. डा. रामशरण महत

११. डा. शेखर कोइराला

१२. सूजाता कोइराला 

१३. कमला पन्त

१४. सरिता प्रसाइँ

१५. गुरुराज घिमिरे

१६. आनन्दप्रसाद ढुंगाना

१७. नवीन्द्रराज जोशी

१८. गोविन्द भट्टराई

१९. दीपक गिरी

२०. ह्रदयराम थानी

२१. दिलेन्द्रप्रसाद बडु

२२. कल्याण गुरुङ

२३. चीनकाजी श्रेष्ठ

२४. रत्न शेरचन

२५. जीवन परियार

२६. रामकृष्ण यादव

२७. किरण यादव

खुमबहादुर खड्का पक्ष

१. खुमबहादुर खड्का 

२. शंकर भण्डारी

३. पुष्पा भुसाल 

४. देवेन्द्रराज कडेंल

५. अजयकुमार चौरसिया

देउवा र खड्का दुवै गुटसँग निकट 

१. मोहनबहादुर बस्नेत 

२. इश्वरी न्यौपाने 

३. पार्वती डिसी चौधरी 

सिटौला पक्षधर

१. प्रदीप पौडेल

४ हजार बढी नेता जिम्मेवारी विहीन

गुट र उपगुटको चेपुवामा परेका सभापति देउवाले पार्टी निकायमा सदस्य नियुक्त गर्न नसक्दा चार हजार बढी नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्। 

कहाँ कति पद खाली?

केन्द्रीय कार्य समितिमा मनोनित गर्न बाँकी सदस्य – १० जना

केन्द्रीय सदस्यमध्येबाट चयन गर्ने पदाधिकारी (उपसभापति, महामन्त्री र सहमहामन्त्री) – ३ जना

गठन हुन बाँकी प्रतिष्ठान, समिति, केन्द्र र विभाग

१) केन्द्रीय कार्य सम्पादन समिति २८ सदस्यीय

(संसदीय दलको नेता र सभापति एकै नभए वा प्रवक्ता पदाधिकारी नभए २९  वा ३० सदस्यीय हुन्छ। यो समितका सदस्य सबै केन्द्रीय सदस्य हुन्छन्।)

मनोनित गर्ने संख्या –२२ जना (केन्द्रीय सदस्य मध्येबाट)

२) संसदीय समिति (संसदीय बोर्ड) – १४ सदस्यीय 

मनोनित गर्ने संख्या– ८ जना (केन्द्रीय सदस्य मध्येबाट)

३) केन्द्रीय अनुशासन समिति– ५ सदस्यीय (केन्द्रीय सदस्य मध्येबाट)

४) केन्द्रीय निर्वाचन समिति – ५ सदस्यीय

५) केन्द्रीय लेखापरीक्षण समिति – ५ सदस्यीय

६) केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान – २५ सदस्यीय (विज्ञ मध्येबाट चयन, संयोजक उपसभापति हुने)

७) केन्द्रीय विभागहरुको संख्या - ४२ 

प्रत्येक विभागमा २० जनाको दरले ४२ वटा समितिमा क्रियाशील सदस्यलाई मनोनित गर्ने हो भने ८ सय ४० जनाले जिम्मेवारी पाउने छन्। 

स्थापनादेखि नै गुटको जालो

नेपाली कांग्रेस स्थापना कालदेखि नै गुटको जालोमा जेलिएको थियो। मातृकाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्रविक्रम शाहले नेतृत्व गरेको नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणबाट २००६ सालमा कांग्रेसको स्थापना भएको हो। पार्टी एकीकरणसँगै आन्दोलनमा होमिएका कारण फरक दलबाट आएका नेताहरुको गुट फरक भएपनि विवाद बाहिर देखिँदैनथ्यो।

स्थापनाको दुई वर्ष नपुग्दै पार्टी सभापति मातृका प्रसाद कोइराला र संस्थापक नेता बीपी कोइरालाको कार्यशैली फरक भएपछि दुवैले गुट सञ्चालन गरेका थिए। बीपीको गुटमा सुवर्ण शम्शेर जवरा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायत अधिकांश सदस्य थिए।

मातृकाको गुटमा भने महेन्द्रविक्रम शाह, गेहेन्द्रविक्रम राणा, महावीर शम्शेर र होराप्रसाद जोशी थिए। नेपाली कांग्रेस स्थापना हुनुअघिको नेपाली राष्ट्रिय कांग्रेसका नेता बीपी र मातृकासँग असन्तुष्ट डिल्लीरमण रेग्मी, देवीप्रसाद सापकोटाले बेग्लै गुट बनाएका थिए।

२००९ सालमा मातृका गुटमा महेन्द्रविक्रम, महावीरका साथै गोपालदास श्रेष्ठ, त्रिपुरवरसिंह प्रधान, होराप्रसाद जोशी थिए। सोही बेला केदारमान व्यथित, राजेश्वर देवकोटा (पछि राप्रपाका नेता) र बालचन्द्र शर्माले दोश्रो गुट बनाएका थिए भने नेता भद्रकाली मिश्रले गुट धान्न नसकेपछि पार्टी नै छोडेका थिए। 

‘मातृका गुटले पार्टी छोडेपनिज २०१३ सालमा पुन बिनासर्त पार्टीमा प्रवेस गराईको थियो’, इतिहासकार पुरुषोत्तम बस्नेत भन्छन्, ‘पुन पार्टी प्रवेश गरेपनि उनीसँग आएका बोधप्रसाद यादव, भूदेव राई, बलबहादुर राई, नारदमणी थुलुङले गुट सञ्चालन गरेर बीपीलाई गाह्रो बनाएका थिए।’ २०१४ सालसम्म यो गुटको दबदबा थियो।

बीपीले गरे गुट अन्त्य

२०१४ देखि २०१७ सालसम्म आइपुग्दा कांग्रेसमा बीपीले गुट राजनीति अन्त्य गरेका थिए। तर २०१७ सालमा राजा महेन्द्रले बहदलीय व्यवस्था अन्त्य गरेपछि राजाविरुद्ध हतियार बोक्ने कि  नबोक्ने भन्ने विषयमा विवाद हुँदा गुटको प्रभाव देखियो। बीपी शान्तिपूर्ण आन्दोलको पक्षमा थिए भने सुवर्ण शम्शेर सशस्त्र संघर्षमार्फत राजा फाल्ने पक्षमा थिए। 

बीपीको शान्तिपूर्ण आन्दोलनका पक्षमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह बेनीबहादुर कार्की लगायत थिए। तर बीपीकै विश्वासपात्र सुवर्णले भने फरक गुट सञ्चालन गरी हतियार उठाउन सुरु पनि गरे। सुवर्णको गुटमा पर्शुनारायण चौधरी, योगप्रसाद उपाध्याय, पद्मशंकर अधिकारी, वासुदेव रिसाल, काशीनाथ गौतम, बखानसिंह गुरुङ लगायत थिए। 

सुवर्णको निधनसँगै २०३४ मा उनको गुटको अवशेष चौधरी, अधिकारी, उपाध्याय र रिसालले धानेका थिए भने गुरुङ, गौतम र अच्युतराज रेग्मी भने पार्टी छोडेर पञ्चायतमा प्रवेश गरेका थिए। २०३४ देखि २०३९ सालसम्म बीपीको आघि कसैले गुट सञ्चालन नगरेपनि उनको निधनपछि कार्यवाहक सभापति भएका कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहविरुद्ध महामन्त्री गिरिजाप्रसाद कोइरालाले बेग्लै गुट सञ्चालन गरे। भट्टराईले नेतृत्व गरेको गुटमा सिंह, बेनीबहादुर कार्की, महेन्द्रनारायण निधि, सीके प्रसाइँआदि थिए।

गिरिजाप्रसादलाई कोइराला परिवारका सबै सदस्य, बलबहादुर राई, भूविक्रम नेम्वाङ, खुमबहादुर खड्का आदिले साथ दिएका थिए। २०४८ सालको आमनिर्वाचनसँगै कोइराला गुट प्रभावशाली भयो। तथापि २०४८ को कलबलगुडी महाधिवेशनले भने भट्टराईलाई नै सभापति चयन गरेको थियो।

२०४८ सालमा मन्त्री भएका भट्टराई गुटका चिरञ्जीवी वाग्ले, ढुण्ढीराज शास्त्री, तारानाथ रानाभाट र जगन्नाथ आचार्यसहित आठ जनालाई ६ महिनामै कोइरालाले पदच्युत गरेपछि त्यसको प्रतिशोध भट्टराई गुटले २०५१ सालमा लियो। भट्टराई गुटका ३६ सांसद प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राखेको धन्यवाद प्रस्ताव पारित गर्ने बेला अनुपस्थित भइदिए, जसका कारण कोइराला नेतृत्वको सरकार ढल्यो।

२०५३ सालमा नयाँ बानेश्वरमा भएको नवौँ महधिवेशमा गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भएपछि भट्टराईको गुट सुशुप्त भयो। २०५६ सालसम्म भट्टराई र कोइराला गुटको रस्साकस्सी धेरै चल्न सकेन। २०५६ साल चैत ३ गते कोइराला गुटले भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य बनाएपछि भट्टराई गुट परिवर्तित भयो। 

भट्टराई गुटको नेतृत्व २०५७ साल फागुनमा पोखरामा भएको दशौं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर शेरबहादर देउवाले लिए। देउवा लामो समयसम्म कोइराला गुटका हस्ती थिए। देउवा गुट र कोइराला गुटको विवाद चरम भएपछि २०५९ साल असारमा पार्टी फुट्यो।

२०६४ सालमा दुवै पार्टीबीच एकीकरण भएपनि ४०/६० को भागबण्डा भन्दै कोइराला र देउवाले २०७२ सालसम्म गुटको राजनीतिलाई निरन्तरता दिए। गिरिजाप्रसादको निधन पछि कोइराला गुटको उत्तराधिकारीको रुपमा पार्टी नेतृत्वमा पुगे सुशील कोइराला। उनको निधनपछि अहिले कोइराला परिवारका अधिकांश सदस्य रहेको गुटको नेतृत्व रामचन्द्र पौडेलले लिएका छन्। 

कोइरालाको वैचारिक उत्तराधिकारी भएको दाबी गर्ने कृष्णप्रसाद सिटौलाले पौडेल नेतृत्वको गुट छोडेर नयाँ गुट खडा गरेको छ। देउवा गुटमा रहेका खुमबहादुर खड्का पनि उपगुट सञ्चालन गरेर गुटको प्रभाव पार्टीमा छाड्न सफल छन्।

देउवाले गर्लान् त गुटको अन्त्य?

सभापति शेरबहादुर देउवा आफै गुट उपगुटको नेतृत्व गर्ने व्यक्ति भएकोले उनी नेपाली कांग्रेसको केन्द्रीय नेता जस्तो पनि नभएको केन्द्रीय सदस्य बलबहादुर केसीले टिप्पणी गरे।

नेता पौडेलको गुटका केन्द्रीय सदस्य केसी प्रश्न गर्छन्- ‘देउवा सिंगो कांग्रेसको नेता हुन सक्दैनन्। उनी त गुट र उपगुटकै नेता हुन। प्रान्त वा क्षेत्रीय नेता मात्र कांग्रेसमा देखिए। केन्द्रीय नेता खोइ?’

पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने पार्टीमा देखिएको गुट उपगुटको रोग अन्त्य गर्ने प्रयत्नमा सभापति देउवा रहेको बताउँछन्। सभापति देउवा गुटका नेता श्रेष्ठ भन्छन्, ‘१३ औँ महाधिवेशनमा ६०/४० को राजनीति अन्त्य गर्ने भनेर नेता पौडेलले नै घोषणा गरिसकेकोले कांग्रेसमा गुट अन्त्यको प्रयत्न भइरहेको छ।’

गुटको अन्त्य गर्ने प्रयत्न सभापतिले गरेपनि गुटका नेताको दबाब र आग्रहले केन्द्रीय कार्य समितिलाई पूर्णता दिन नसकेको श्रेष्ठ स्वीकार्छन्। उनी भन्छन्, ‘कुरा त सभापतिले सबै साथीहरुको सुन्नुपर्छ तर निर्णय भने योग्यता, क्षमता र योगदानको आधारमा आफै गर्नुपर्छ।’

नेता केसी भन्छन्, ‘अब हाम्रो पार्टी नेपाली कांग्रेस रहेन, व्यक्ति कांग्रेस भयो। विधान र परम्परा दुवैलाई लत्याउँदै सभापतिले तिनै गुट र व्यक्तिको कुरा सुनेर मन्त्रीपरिषद्‍मा मान्छे पठाए।’

तर नेता श्रेष्ठले अब कांग्रेसमा धेरै गुट उपगुट नबनाई विवेकपूर्ण ढंगले योग्यता र क्षमताको आधारमा पार्टीका सबै निकायलाई पूर्णता दिने पक्षमा सभापति रहेको दावी गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.