|

डडेल्धुरा : प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले राज्यलाई बलियो बनाउने अभियानमा पत्रकार पनि लाग्नुपर्ने बताएका छन्।मंगलबार डडेल्धुरामा आयोजित ‘श्रमजीवी पत्रकारको अवस्था, चुनौती एवं पत्रकार आचारसंहिता’ विषयक प्रदेश ७ स्तरीय छलफल कार्यक्रममा मन्त्री शाहले यस्तो बताएका हुन्। 

पत्रकार राज्यको चौथो अंग भएको उल्लेख गर्दै मन्त्री शाहले राज्यले पत्रकारहरूमाथि लगानी गरेकाले एकजुट भएर राज्यलाई बलियो बनाउने अभियानमा लाग्नुपर्नेसमेत बताए। ‘राज्यले पत्रकारहरूबाट ठूलो भरोसा गरेको छ। राज्यको पत्रकारहरूमाथि लगानी छ। राज्यले गरेको लगानी फिर्ता पनि चाहन्छ’, उनले भने, ‘राज्यलाई कमजोर गरेर न राजनीति बलियो हुन्छ, न संचार जगत बलियो हुन्छ। राज्य बलियो भयो भने हामी सबै बलिया हुन्छौँ। त्यसैले अहिले हामीले राज्य बलियो बानउने अभियानमा लाग्नुपर्छ।’

संचारमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री शाहले पत्रकारहरूले निमुखाहरूको आवाज भन्न सक्नुपर्ने बताए। पत्रकारले समाजको सद्भावलाई अगाडि बढाउन सक्नुपर्ने बताउँदै उनले सार्वभौमसत्ता, स्वतन्त्रता खुम्चाउने प्रयत्न भयो भने त्यसका विरुद्ध खबरदारी गर्ने बताए। पत्रकारले आफूभन्दा माथि उठेर समाज र राष्ट्रको अधीनमा बस्न सक्ने प्रण गरे मात्रै समाजको कायापलट गर्ने सकिने उनको भनाइ थियो। 

उनले नेपालमा पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको बताए। पत्रकारिता क्षेत्रलाई अझै व्यापक बनाएर आगाडि बढाउनुपर्ने उनको भनाइ थियो। संचारकर्मी र राजनीतिकर्मीको सहकार्यले यो समाजलाई बदल्न सकिनेसमेत उनले बताए। ‘पत्रकार र राजनीतिकर्मी एकअर्काका परिपूरक हुन्’, उनले भने, ‘हामीले एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्छ।’ देशमा रहेको गरिबी,अशिक्षा हटाउनतिर पनि मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। 

उनले एकअर्कामा विश्वास गरेर वा सहयोग गरेर अघि बढेमा भने समाजमा परिवर्तन आउने र जनताका अपेक्षालाई पूरा गर्न सक्ने बताए। पत्रकारहरूले दिएका सुझाव समेटेर प्रदेशको कानुन निर्माण गर्ने उनको भनाइ थियो। यस प्रदेशमा रहेका स्रोत साधनको सदुपयोग गरी समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागिरहेको समेत उनले बताए। पत्रकारिता क्षेत्रलाई जनताले विश्वास गरेको उल्लेख गर्दै मन्त्री शाहले जनताका अधिकारका निम्ति आफ्नो पेसागत मर्यादा र अधिकारका लागि अघि बढ्न संचारकर्मीहरूलाई अनुरोध गरे। 

सीमित स्रोत साधनकाबीच पनि पत्रकारिता क्षेत्र अगाडि बढिरहेको छ : महासचिव विष्ट

प्रेस काउन्सिलले आयोजना गरेको कार्यक्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सीमित स्रोत साधनका बीच पनि पत्रकारिता क्षेत्र अगाडि बढिरहेको बताएका छन्। पत्रकारिता क्षेत्रको अझै विकास गर्नुपर्नेमा उनको जोड थियो। महासचिव विष्टले पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रीय, प्रदेश र स्थानीय सरकारले सहयोग गुर्नपर्ने बताए।

प्रेस स्वतन्त्रतामूलक कानुन निर्माण गर्न पनि सरकारलाई महासचिव विष्टले आग्रह गरे। विष्टले पत्रकार र संचार माध्यमहरूलाई आचारसंहिता पालना गर्न पनि अनुरोध गरे। पत्रकारले विश्वसनीय, विकासमैत्री र सफलताका कथाहरूलाई आफ्नो संचार माध्यमा प्रसारण र प्रकाशन गर्नुपर्ने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.