|

ताप्लेजुङ : फुङलिङ नगरपालिका–१० का पूर्णहाङ लिम्बूले सतुवाको बेर्नाबाट वार्षिक एक लाख ८० हजार आम्दानी गर्छन्। सतुवाको बेर्ना उत्पादन गरेको ११ वर्ष भयो। उनले वार्षिक करिब १२ हजार वटा बेर्ना बेच्दै आएका छन्।

उनले एउटा बेर्ना १५ रुपैयाँमा बिक्री गर्दै आएका छन्। यस वर्ष एक रोपनी जमिनमा ५० हजार बेर्ना लगाएका छन्। सेपिलो दोमट माटोमा सतुवाको खेती र बेर्ना उत्पादन हुने लिम्बुको भनाइ छ।

गाउँमा पेटसम्बन्धी समस्या हुँदा सतुवा प्रयोग गरको पूर्णहाङले देखे। यो कुरा थाहा पाएपछि उनले २० बोट सतुवाको बेर्ना रोपे। घरायसी प्रयोजनका लागि रोपेको सतुवा महँगोमा बिक्री हुने ओलाङचुङगोलाको एक व्यापारीले बताए। बढी मूल्यमा बिक्री हुन्छ भन्ने थाहा पाएपछि उनले व्यवसायिक रुपमा बेर्ना उत्पादन गर्न थालेका हुन्।

जंगलमा पाइने सतुवा ढाड दुखाइ, पायल्स, मुटु रोग, हाडजोर्नीलगायत दर्जनौँ रोगको उपचारमा प्रयोग हुने बताइएको छ। राम्रो मूल्य पाउन थालेपछि यहाँका कृषक सतुवा खेतीमा आकर्षित भएका छन्। दुई हजार मिटरभन्दा माथिको भूगोलमा सतुवाको खेती उपयुक्त मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.