फिचर

कुखुरापालनबाट गाउँमै मासिक ४० हजार कमाउँछन् उदयपुरका पौरखी युवा
SHARES

विदेशबाट फर्केर गाउँमै उद्योग, कुखुराकै पैसाले बिहे गर्ने धोको

बैशाख १, २०७५

    उदयपुर : पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दो छ। अहिले एकैपटक धेरै पैसा कमाउने सोचमा पनि युवामा परिवर्तन आएको छ। विदेशी भूमिमा पुगेपछि पाउने दुख, कष्ट, पीडाका कारण विदेश जाने युवाको संख्या घट्न थालेको हो।

    विदेशी भूमिमा दुख पाएपछि नेपालमै फर्केर स्वरोजगार बन्नेहरूको संख्या भने बढ्दै गएको छ। त्यसैको गतिलो उदाहरण बनेका छन्, उदयपुरको कटारी नगरपालिका २ का २० वर्षे विष्णुबहादुर कटुवाल। ‘दुख नगरी सुख मिल्दैन भन्दै २०७३ सालमा मलेसिया गएको थिएँ’ ब्रोइलर कुखुरा फार्ममा भेटिएका कटुवालले भने, ‘के को सुख मिल्नु झनै ठूलो दुखको भुमरीमा फसेँ।’

    रोजगारीकै शिलशिलामा जेठा दाइ डुण्डीराज कटुवालले भारत, मलेसिया गएकोले पैसा कमाउने सुनौलो सपना बोकेर २०७३ मा विष्णु पनि मलेसिया नै पुगेका थिए। उनको सपना अधुरै रह्यो। उनी २०७३ सालमा नेपाल फर्किए। ‘विदेशतिर घुम्दा दाइले सोचेको जस्तो पैसा कमाउन सक्नुभएन,’ विष्णुले भने, ‘मैले मेनपावरलाई समेत गरेर जम्मा एक लाख ९० हजार ऋण खोजेर मलेसिया गएँ।

    सेल्समेनको काम गरेँ।’ मासिक नेपाली २० देखि २२ हजार पैसा कमाउने आशा थियो। मलेसिया पुगेका कटुवालले कमाइ कम भएकाले काम गर्ने कम्पनी छाडेरै भाग्नुपर्‍यो। ‘कम्पनीले भनेको जस्तो सेवासुविधा त्यहाँ दिएन’ विष्णुले भने, ‘दुईवर्ष कम्पनीमा बसेर काम गरेँ, अनि कम्पनी छाडेर भागेँ।’

    कम्पानीले भनेको जस्तो पैसा नदिएपछि केही समय अवैधानिक रूपमा काम गरेर नेपाली दूतावासमार्फत नेपाल फर्किएँ। ‘दुईवर्ष जुन कम्पनीमा काम गर्न गएको थिएँ, त्यसले ऋण पनि तिर्न सकिन’ उनले भने, ‘विदेश गएको ऋणको साहुँ तिरेर व्याज बाँकी थियो।नेपाल फर्किएपछि मात्र तिर्न सकेँ।’

    विदेशबाट फर्केर ऋणमा कुखुरापालन

    मलेसियाबाट फर्केका कटुवालले २०७४ भदौमा गाउँमै तीन लाख ऋण लिएर नमुना कुखुरा फर्म खोले। ‘सानै उमेरमा विदेश गए पनि कटुवाल हातलागी शून्य भएर फर्किए’ उनले भने, ‘त्यसपछि फेरि विदेश जाने सोच पनि आएन।’ कुखुरालाई चारो लगाउँदै गरेका विष्णुले भने, ‘ विदेशमा दैनिक १० देखि २० घण्टा काम गर्नैपर्ने, समयमा खाना नपाइने, भाषा नबुझ्दा मालिकले गाली गर्ने, आफ्नो परिवारसँग घरमा कुरा गर्न नपाइने, रोवोर्टजस्तो भएर काम गर्नु पर्ने हुँदो रहेछ।’ 

    ‘मैले साढे तीन वर्ष मलेसियामा बिताएँ। बिरामी भएका वेला औषधिसमेत खाने समय पाइनँ’ उनले दुखेसो पोखे। विदेश जाने रहर गर्नेलाई गाउँमै केही गरौँ भन्ने सल्लाह दिने कटुवाल भन्छन्, ‘सकेसम्म विदेश जाने पैसाले यही सानो तिनो व्यापार व्यवसाय, तरकारी खेती गर्दा राम्रो हुन्छ।

    मासिका ४० हजार आम्दानी

    नेपालमा तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका वेला २०५४ साल असोजमा आफ्ना बुबा मेखबहादुर कटुवाल बेपत्ता पारिए। तत्कालीन राज्य तर्फबाट शाही सेनाले बेपत्ता बनायो। ‘माओवादीमा लागेको आरोपमा त्यति बेला बेपत्ता पारेका बुवा अहिलेसम्म बेपत्तै हुनुहुन्छ’ विगत सम्झँदै विष्णुले भने, ‘घरको आर्थिक अवस्था पहिलादेखि नै कमजोर थियो, जेठा दाइ धेरै लामो समयमा भारत र मलेसिया बस्नुभयो। तर सोचे जस्तो केही आर्थिक प्रगति भएन।अनि म पनि मलेसिया गएँ।’

    विदेश कमाउँन जाने युवाकाे दुख दर्दकाे मर्मबाट सिकेर नेपालमै अाइ फार्म खाेलेका विष्णु अहिले दिनभरि ब्रोइलर कुखुरासँग रमाउन थालेका छन्। उनको फर्ममा अहिले तीन हजार साना र ठूला कुखुरा छन्। ‘कुखुरा पाल्न मैले गएको असोजदेखि सुरु गरेको हुँ’ उनले भने, ‘८०० बाट सुरु गरेर अहिले तीनहजार कुखुरा पुर्‍याएको छु।’ कुखुरा पालनबाट मलेशियामा कमाउने पैसा भन्दा मासिक रुपमा दोब्बर कमाइ भइरहेको उनको भनाइ छ। ‘मैले मासिक रुपमा मलेसियामा २२ हजारसम्म मात्र बचाएको थिएँ’ विष्णुले भने, ‘घर खर्च, दानापानी कटाएर अहिले ४० हजार बचाउँछु।’

    विदेश जाँदाको ऋण र विदेशमा बस्दा घरमा आमा वेदमाया कटुवालले लिएको ऋण समेत विष्णुले कुखुरा पालनबाटै तिरेको बताउँछन्। ‘कमाउन गएको छोरो रित्तो हात फर्कियो’  विष्णुले भने, ‘आमा पनि दुखी हुनु भएको थियो, अहिले त खुसी हुनुहुन्छ,सुरुमा कुखुरा पाल्न खोज्दा कसरी साहुबाट लिएको ऋण तिर्ने, कुखुरा बिकेन भने के गर्ने भन्नुहुन्थ्यो अहिले सबै ठिक छ।’

    कुखुरापालनकै आम्दानीले बिहे गर्ने योजना

    हजार कुखुरा अट्ने गोठमा कुखुराको खेतीमा जुटेका कटुवाल अविवाहित हुन्। ‘हामी तीन छोरा र दुई छोरी छौँ’ उनले भने, ‘जेठो दाइ र जेठी दिदीको विहे भइसकेको छ, म चाहिँ कुखुरा व्यवसायबाटै करोडपति भएर मात्र विहे गर्ने योजनामा छु।’ कुखुरा व्यवसायीबाटै नाम र दाम कमाएर बिहे सपना २० वर्षे लक्का जवान कटुवालको छ।

    माइलो दाइपछि आफ्नो विहे गरी बहिनीको बिहे गर्ने सोच पनि रहेको सुनाउँदै विष्णुले भने, ‘स्वरोजगार बन्न कतै जानु पर्दैन, यहीँ सानोतिनो काम गरे हुन्छ।’ लगनशिलता, धैर्यता, निरन्तरता, अठोट र बाचा कसे पैसा घरमै कमाइने उनको दावी छ। ‘हामी कुनै जमिन्दार होइनौं, सानैमा बुबालाई आर्मीले बेपत्ता पारेपछि शिक्षा दीक्षामा पनि पछि पर्‍यौ’ उनले भने, ‘त्यसैको परिमाण दाइ अहिले पनि विदेशतिर रोजगारीमा धाइरहनुभएको छ, देशमा शान्ति आएपछि माइला दाइ सशस्त्र प्रहरीमा जागिरे हुनुहुन्छ, आमाले परिवार खर्च पुर्‍याउन नसकेकाले हामी सबले राम्ररी पढ्न पाएनौँ।’    

    बुबालाई सम्झँदै भावुक बनेका विष्णुले भने, ‘म पनि यसरी विदेश जाने, अनि फर्केर कुखुरा पाल्ने गर्दिथेँ होला। सरकारी जागिर खाएर सुकिलो मुकिलो भएर बस्थेँ होला।’ कुराकानीका क्रममा विदेशकै दुख सम्झँदै कटुवाल भन्छन्, ‘मलेशिया बस्दा धरानको एकजना साथीसँग त्यहाँको दैनिक दुःख सहनु परेपछि स्वदेशमा नै गएर दुःख गर्ने बाचा गर्‍यौ। अहिले त्यही अनुरुप मैले काम गरिरहेको छु। साथीले पनि गरिरहनु भएको छरे।’

    अहिले ऋण तिरेर पनि १५ देखि २० लाख रुपैयाँ बराबरको पूँजीको विकास गरिसकेको दाबी कटुवालको छ। चारवटा फर्म बाहेक अब अन्य चारवटा नयाँ फार्मसमेत बनाउने तयारी गरिरहेका छन्। फर्म सञ्चालन गर्न जग्गा पनि भाडामा लिएका छन्। २०७८ सालसम्ममा आफूले एक दर्जन भन्दा बढी फार्म सञ्चालन गर्ने र जिल्लाकै एक नम्बर कुखुरापालक उद्यमी बन्ने लक्ष्य छ।

    आफ्नो फार्मको कुखुरा स्थानीय बजारदेखि कटारी हुँदै ओखलढुंगा, सोलुखुम्बु र खोटाङसम्म पुर्‍याउने गरेका छन्। ‘अवको तीन वर्षभित्र देशका ठूलाठूला शहर बजारमा आफ्नो फार्मको कुखुरा पुर्‍याएर बेच्ने तयारीमा छु’ विष्णुले भने, ‘एक नम्बर कुखुरापालक उद्यमी बन्दै करोडपति बन्ने योजना हो।’

    बुबाको अहिलेसम्म न सास पायौँ न लाश पायौँ

    २०५४ असोज १५ गते राती शाही नेपाली सेनाद्वारा बेपत्ता परिएका बुबा मेखबहादुर अहिलेसम्म मरे बाँचेको टुंगो छैन। ‘रातको समय थियो, मलाई अलि अलि सम्झना छ,’ उनले भने, ‘दैनिक शाही सेना आएर माओवादी होस्, माओवादी होस् मात्र भन्दै बुबलाई पिटिरहन्थ्यो’ विष्णुले भने, ‘शाही सेनाले पिटेकै भरमा माओवादी बनायो, अनि त्यस दिन सेना आएको थाहा पाउनासाथ भाग्नुभयो, सेनाले लखेट्दै गयो, अनि बेपत्ता नै पार्‍यो।’

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दर्ता गरे पनि अहिलेसम्म केही नभएको उनले गुनासो गरे। ‘स्थानीय शान्ति समितिबाट द्वन्द्वपीडितको राहत लिएका छौँ’ विष्णुले भने, ‘त्यसैले न मलमपट्टी लगाउने काम भएको छ, न बुबाको लाश पाइयो, न सास नै।’

    विष्णुसँगै कुखुरा फर्म मै भेटिएकी विष्णुकी आमा ५६ वर्षे वेदमाया आँखाभरि आँशुका धारा बगाउँदै मुख छोपेर रोइरहिन्। ‘आमा बुबाको बारेमा बोल्नु हुन्न’ विष्णुले भने, ‘राज्यले नै ठग्यो, द्वन्द्व पीडितको नाममा पैसा दिएर सास र लाश पाउने अधिकार नै लुट्यो, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले न्याय देला भनेर विश्वास पनि छैन।’    

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]