कृषि, उद्योग तथा पर्यटन विकासमा विशेष जोड

|

जनकपुरधाम : प्रदेश-२ को आर्थिक वर्ष ०७४/७५ को पहिलो संसद् अधिवेशनको नीति तथा कार्यक्रम संसद् बैठकसमक्ष प्रस्तुत गरिएको छ। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले पेस गरेको सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बुधबार बसेको १२औँ प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन्।

प्रदेश प्रमुख कायस्थले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशको विकासका लागि कृषि, उद्योग तथा पर्यटनको विकासमा विशेष जोड दिने गरी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति लिएको छ। यसका साथै वैदेशिक रोजगारीमा जाने युवाबाट प्राप्त भएको रेमिट्यान्सको प्रयोगलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने नीति लिइएको छ।

प्रदेश–२ क्षेत्रफलको हिसाबले कम भए पनि जनसंख्याको हिसामा ठूलो रहेको तथा यस क्षेत्रमा वर्षौंदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड, वीरगन्ज चिनी कारखाना उद्योग, कृषि औजार कारखाना सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय र सहकार्य गरेर उद्योगहरु सञ्चालन गरी स्थानीय स्तरमै रोजगारीको व्यावस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

साथै प्रदेशमा बन्द हडताल चक्काजामलगायतका कार्यक्रममा निरुत्साहितका लागि सरकारले आवश्यक पहल जनाएको छ। साथै कृषिमा आधारित उद्योगको स्थापना गर्ने, सिँचाइका लागि सुनकोसी कमला डाइभर्सन र बागमती नदी तथा नारायणी नदी पानीलाई उपयोग गर्दै खेत–खेतसम्म पुर्‍याउन प्रदेश सरकारहरुले संघीय सरकार तथा स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर खेतखेतमा सिँचाइ पुर्‍याउने नीति अगाडि सारिएको छ।

प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको धार्मिक स्लहरुको विकास, सौन्दर्यीकरण गरेर स्थानीय लोकनाच, लोकवाजा, लोकरीति संस्कृति, तथा परम्परा संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले कामकाज गर्ने नीति तथा कार्यक्रममा समेटेको छ।

प्रदेशमा अग्र्यानिक माछा उत्पादनमा जोड दिँदै घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवाहरुलाई सहुलियत दरमा बैंकबाट ऋण प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने नीति प्रदेश सरकारले लिएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह अस्पाल सप्तरी तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुको साथै जनकपुरको जानकी मेडिकल कलेज तथा नेशनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने उल्लेख रहेको छ।

यसका साथै प्रदेश लगानी वोर्डले वीरगंज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रोपनी–राजविराज क्षेत्रलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने नीति तर्जुमा गर्ने नीति प्रदेश सरकारले लिएको छ। साथै निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणमा सहयोग गर्ने, तराई मधेसको मुटु मानिने हुलाकी राजमार्गको कार्यलाई तिव्र गतिमा सञ्चालन गर्ने योजना अघि बढाएको छ।

बेटी पढाऊ र बेटी बचाऊ’ अभियान

प्रदेश सरकार अन्तर्गत विभिन्न आयोग तथा मुख्यमन्त्री ल्याएको ‘बेटी पढाऊ र बेटी बचाऊ’ अभियानलाई सफल बनाउनका लागि प्रदेश सरकारले विभिन्न विमा कम्पनीहरु साझेदारीमा छोरीहरुको शिक्षा बिमा नीति ल्याएर छोरीको हत्या गर्नेलाई कडा कानुनको निर्माण गर्ने नीति अघि सारिएको छ।

प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघसँग प्रदेश सरकार सहयोगीको रुपमा भूमिका खेली योजनाहरुलाई तीव्रताका साथ सम्पन्न गराउनका लागि कामकाज गर्ने जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.