|

गाईघाट :  नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार रुपैयाँ घुससहित रङ्गे हात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो। सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र संशाेधन गरिदिने भन्दै साहले दुई लाख रुपैयाँ घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दै गर्दा  पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए।

सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र शंसोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपिँया घुस मागेको बुझिएको छ। ठुलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए। विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ति र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेविच २ लाख रुपिँयामा सहमति भएको सेवाग्राहीले बताएकाछन्।

पक्राउ परेका साहले आफुले घुस नलिएको बताए। उनले भने, ‘म पुजा गर्दै थिए सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाइ पैसा हातले नै बुझेर राखेको दाबी गरे। पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्टगर्दा हातले नै बुझेको फेला पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.