|

काठमाडौं : पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन्। श्रेष्ठले कानुन विपरित सर्वोच्चको गाडी, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएको भन्दै कर्मचारीहरूले गाडी खाेसेका हुन्। 

श्रेष्ठले प्रयोग गर्दै आएको बा १३ च ६२४१ नम्बरको गाडी सर्वोच्चका कर्मचारीले खासेका हुन्। इन्धन तथा मर्मत खर्च लिन सर्वोच्च अदालत गएका गाडीका चालक र गाडीलाई कर्मचारीले नियन्त्रणमा लिएर मुख्य रजिष्ट्रार राजन भट्टराईलाई बुझाइदिएका हुन्। 

श्रेष्ठले कानुन विपरित गाडी प्रयोग गर्दै आएकोले गाडी र चालक जोगमान महतोलाई सर्वोच्च प्रशासनमा बुझाइएको आधिकारीक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए। महतो सर्वोच्चका स्थायी कर्मचारी हुन् । तर महताेले श्रेष्ठ निवृत्त भएपछि पनि उनकै गाडी चलाइरहेका छन्। 

पूर्व विशिष्टलाई सरकारी सुविधा दिँदा कानुन बनाएर मात्रै दिनू भन्ने सर्वोच्चको आदेश भएपनि सो आदेशलाई लत्याउँदै सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरूले नै विभिन्न सुविधा प्रयोग गर्दै आएका छन्। पूर्व विशिष्टलाई सुविधा दिने बारेमा अहिलेसम्म कानुन बनिसकेको छैन।

‘१३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चको गाडी, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएका छन्,’ भट्टराईले भने, ‘सबैले कानुन विपरित गाडी चढिरहेका छन्। पूर्व विशिष्टलाई सुविधा दिने विषयमा अहिलेसम्म कानुन बनेको छैन।’

सर्वोच्चका प्रधानन्यायाधीशहरुले आफ्ना पालामा महंगा गाडी किन्ने र पछि तिनै गाडी लिएर घर जाने गरेको उनले बताए । सर्वोच्चबाट गाडी लिएर जाने पूर्व प्रधानन्यायाधीशले सरदर दुई करोड मुल्य पर्ने गाडीहरु कानुन विपरित प्रयोग गरिरहेका छन्।

मैले गाडी लिएर फर्किसकें : चालक जोगमान
कर्मचारीले नियन्त्रणमा लिएर बुझाएको गाडीको चाबी सर्वोच्चका मुख्य रजिष्ट्रार भट्टराईले उतिबेलै फिर्ता गरेका छन् । गाडीका चालक महतोले उतिबेला नै आफूले गाडी लिएर गएको बताए।

‘कर्मचारीहरुकै अगाडी मलाई गाडीको साँचो फिर्ता दिनुभएको हो,’ उनले भने, ‘घटना सामान्य हो, खासै केही पनि होइन ।’ महतोले गाडी लिएर आफू पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग पुगिसकेको बताए।

सुशीला कार्की पनि कानुनविपरीत सर्वोच्चको गाडीमा 

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि कानुन विपरित सर्वोच्च अदालतको गाडी चढिरहेकी छन् । उनी सहित १३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चका गाडी चढिरहेका छन्। 

पूर्व प्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशव उपाध्याय, हरिप्रसाद शर्मा, दिलीप कुमार पौडेलले सर्वोच्चको गाडी चढिरहेका छन्। 

त्यस्तै केदार गीरी, मिनबहादुर रायमाझी, दामोदर प्रसाद शर्मा, रामकुमारप्रसाद शाह, गोपाल पराजुली र सुशीला कार्कीले पनि सर्वोच्चका गाडी कानून विपरित चढिरहेका छन्।

सर्वोच्चले नै कानुन निर्माण नगरी पूर्व विशिष्टलाई सुविधा नदिन आदेश दिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.