साइबर अपराध मुख्य चुनौती

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताए। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक(हुद्या) क्याडेट तालिम कार्यक्रमलाई बिहीबार श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशकाे सुरक्षा चुनौतीबारे यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने पनि बताए। प्रधानमन्त्री ओलीले भने, ‘देशभित्र कै हिंसात्मक अतिवाद,अन्तर्राष्ट्रिय आतंककारी गतिविधि, क्षेत्रीय र जातीय द्वन्द्व नै हाम्रा लागि खतरा हो।’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनुपर्दछ।’ प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर अपराध भएको पनि बताए।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामबारेमा जानकार लिई साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच समन्वय गर्न जरुरी छ।’ प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको पनि बताए। प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको  विकास वर्तमान सरकारको लक्ष्य रहेको बताए। ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं, प्रधानमन्त्री ओलीले भने, ‘तर हामी सधैँ भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहन जरुरी छ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएकोमा प्रशंसा गरे। नेपाली सैनिकले विश्वका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ।  

प्रधानमन्त्री ओलीले नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको भइसकेकाे पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.