|

विराटनगर : प्रदेश १ सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट सार्वजनिक गरेको छ। सार्वजनिक भएको बजेट एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ रहेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले उक्त बजेट बिहीबार बसेको प्रदेशसभा बैठकमा पेस गरे। बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

बजेटमा गरिवका लागि खाद्यान्न कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका एक एक स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गर्ने उद्देश्य राखिएको छ।

यस्तै, बजेटमा कृषि क्षेत्रको विकासका लागि चार करोड ७६ लाख, पर्यटनको विकासका लागि छ करोड ५३ लाख, जलस्रोत, ऊर्जा तथा भौतिक पूर्वाधार विकासका लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रका लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले प्रदेशका सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्था गर्ने मन्त्री आङ्बोले बताए।

यस्तै, प्राकृतिक प्रकोपपीडितको राहतका लागि दुई करोड ४१ लाख रुपैयाँ छुट्याएको छ। बजेटले कृषि, पर्यटन, जलस्रोत र ऊर्जा, भौतिक पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ। अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउने प्रयाससहित बजेट निर्माण गरेको मन्त्री आङ्बोले संसदलाई जानकारी दिए। 

बजेटले वाम गठबन्धनले गएको चुनावमा जनताबीच लगेको चुनावी घोषणापत्रलाई आधार बनाएको पनि आर्थिक मामिलामन्त्री आङ्बोले संसदमा जानकारी गराए।
प्रदेश सरकारले अन्य स्रोत नभएकाले संघीय सरकारले दिएको समान्यीकरण अनुदानबाटै बजेट निर्माण गरेको हो। बजेट पेस गर्दै मन्त्री आङ्बोले कानुन र संरचना अभावका कारण यस वर्ष प्रदेश सरकारले आफ्नै राजश्व संकलन गर्ने अवस्था नभएकाले समान्यीकरण अनुदानमार्फत् आएको रकमबाटै बजेट निर्माण गरेको जानकारी दिए। आगामी आर्थिक वर्षदेखि भने प्रदेश सरकारले आन्तरिक स्रोतसहित समेटेर बजेट निर्माण गर्ने उनको भनाइ छ।

प्रतिपक्षी कांग्रेसले भन्यो : नोटरहित बजेट

प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेस गरेको चालु आर्थिक वर्षको बजेट नोट नभएर भोटअनुसार मात्रै भएको प्रतिक्रिया दिएको छ।
बजेट भाषणपछि संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारले स्रोतको उचित प्रबन्धविना जथाभावी कार्यक्रम ल्याएको प्रतिक्रिया दिए। चालू आर्थिक वर्षको बजेट पार्टी कार्यकर्ता र मतदातालाई खुसी पार्ने खालको मात्रै भएको उनको भनाइ थियो। 

कार्कीले पहिलो पटक संसदमा प्रस्तुत हुने बजेटको विषयमा प्रतिपक्षी दलसँग सामान्य छलफलसमेत नगरेको गुनासो गरे। एकलौटी ढंगले मनपरी गर्न खोजिएको र अन्य दललाई ‘बाइपास’ गरेको कार्कीको प्रतिक्रिया थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.