|

धनकुटा : सरकारले विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई आरक्षण दिएर सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेता पनि राजधानी र तराई क्षेत्रबाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन।

कोशी पहाडी क्षेत्रमा विद्यार्थी, अपाङ्ता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि सरकारले सार्वजनिक यातायातको भाडामा छुट दिएको भए पनि उनीहरू सो सेवाबाट बञ्चित भएका छन्। सार्वजनिक यातायातका साधनहरुले सर्वसाधारणलाईलाई राज्यले दिएको सुविधा समेत दिएका छैनन। कोशी पहाडी क्षेत्रका स्थानीय रुटमा चल्ने तथा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई छुट दिन इन्कार गर्ने गरेका हुन्। 

नियम बनेर पनि कार्यन्वयन नहुदाँ धनकुटा लगायत पुर्वी पहाडि जिल्लामा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूले आफुहरुले भाडामा छुट पाउने अधिकारबाट बञ्चित  बन्नु परेको गुनासो गर्छन्। सरकारले यातायात व्यवसायीहरुसगँको सहमतिमा परिचयपत्र हुने विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था गरेको छ, भने ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि आरक्षण सहित सार्वजनिक यातायातमा ५० प्रतिशत  छुटको व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

भाडादरमा छुटको व्यवस्था भएपनि धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा लगाएत पुर्वी पहाडी  जिल्लामा चल्ने यातायातका साधनले छुुट नदिने गरेको पिडितहरुको गुनासो छ। अध्ययनका लागि धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत सहिदभूमि गाउँपालिकाका रबिन मंग्रातीले यातायात व्यवसायीको लापरबाही र सरकारी अनुगमनको उदासीनताका कारण नियम भएर पनि कार्यान्वयन नहुदा आफुहरु भाडामा सहुलियतको अधिकारबाटै वञ्चित हुनु परेको गुनासो  गरे। 
‘सरकारले विद्यार्थीका लागि सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत भाडामा छुट गरेको भएपनि कोशी पहाडी क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनले भाडामा कुनै छुट दिएका छैनन्।’ उनले भने ‘विद्यार्थी हो भनेर परिचयपत्र देखाई भाडामा छुट माग्दा तपाईं चढ्ने कलेज बसले पनि सित्तैमा बोक्दैन हामीसँग के भाडा छुट माग्नुहुन्छ भनेर सबैजसो सार्वजनिक सवारी साधनका सह चालकले हप्काउने गरेका छन्।’

त्यस्तै धनकुटा बसपार्कमा भेटिएका धनकुटा नगरपालिका वडा नं. २ का चन्द्रबहादुर थापा र जेष्ठ नागरिक मञ्च धनकुटाका रामबहादुर श्रेष्ठले उस्तै किसीमको गुनासो गरे। उनीहरूले नियम भएर पनि आफूहरूले पहाडी क्षेत्रमा चल्ने यातायातका साधनबाट तोकिएको भाडा छुट नपाएको  गुनासो  गरेका हुन्। धनकुटा लगायत पहाडी जिल्लामा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने अधिकाशं विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकहरुले यस्तै गुनासो गर्ने गरेका छन्। 
यस्तै काठमाडौँ लगायतका स्थानमा जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट भएको भए पनि यस क्षेत्रमा छुट समेत हुन नसकेको जेष्ठ नागरिक मञ्च धनकुटाका अध्यक्ष श्रेष्ठले बताए। स्थानीय प्रशासनले यसमा ध्यान दिएर कार्यान्वयनमा जानुपर्नेमा त्यसमा कुनै प्रक्रिया अघि नबढेको उनले बताए। उनले जेष्ठ नागरिकहरुले आरक्षित सिटमा पनि बसेर यात्रा गर्न नपाएको गुनासो गरे।

सरकारले आरक्षणमा राखेर भाडामा छुट गरेको भएपनि व्यवस्था अनुसार व्यवसायीहरुले छुट दिन नमानेको अपाङ्ग सचेतना सेवा केन्द्र धनकुटाका अध्यक्ष पुष्पलाल तामाङले बताए। आफूहरु राजधानी वा तराईका जिल्ला गएका बेला छुट पाउने गरेको भएपनि स्थानीय रुटमा भाडामा छुट नदिएको उनले बताए। राज्यले दिएको सुविधा पाउनबाट पनि अपाङ्गता भएका नागरिकहरु वञ्चित भएको उनको गुनासो छ। ‘भाडामा छुटको त कुरै छाडौँ, अपाङ्गता भएकाहरुको लागि आरक्षण गरिएको सिटमा समेत बस्न दिएका छैनन’ तामाङले भने।

यता हिले बसपार्कमा भेटिएका बस चालक दिनेश बस्नेतले सार्वजनिक सवारी साधनको सिटमा ट्राफिक प्रहरीले आरक्षणको व्यवस्था गरिएको भएपनि बस्ने बेलामा जो पहिले चड्छ उसैलाई बसाउने गरेको स्विकार गरे। बस्नेतले जेष्ठ नागरिक र अपांग खासै नहुने सो सिट आरक्षणका मानिस नआउँदा खाली राखेर आरक्षण विहीनलाई उभिएर यात्रा गर्न भन्न आफूहरु नसक्ने बताए। उनले भाडा छुट दिनुपर्छ भन्ने विषयमा भने आफूहरूलाई कसैले केही नभनेको र सो बारेमा थाहा नभएको बताए।

यातायात व्यवसायीहरु भने आफुहरुले भाडामा छुट दिइरहेको बताउछन। कोसी बस व्यवसायी संघका अध्यक्ष कृष्ण सुवेदीले आरक्षण कोटामा पर्नेले प्रमाण सहित आएर भाडामा छुट मागेको खण्डमा छुट दिन कुनै इन्कार नगरेको जीकिर गरे। आरक्षणलाई पहिलो प्राथमिकतामा सिटमा राखेको दावी गरे। पूर्वाञ्चल यातायात व्यवसायी संघ अध्यक्ष सरोज श्रेष्ठ लक्षित वर्गलाई भाडामा सहुलियत दिइरहेको दाबी गरे। तर यातायात व्यवसायीहरुले यस्तो दाबी गरेपनि गाडीमा भाडा उठाउन खटिएका कतिपय कर्मचारीहरु भने आरक्षित वर्गमा को को छन र उनीहरुलाई कति प्रतिशत भाडा छुट दिनुपर्ने भन्ने समेत जानकारी नभएको बताउँछन। धनकुटा बसपार्कमा भेटिएका माईक्रोबसका सहचालक युवराज कार्कीले कसलाई कति छुट दिनुपर्छ भन्ने समेत थाहा नभएको बताउँदै यातायातमा तोकिए बमोजिमको छुट नदिएको स्विकार गरे।

यातायात व्यवसायीले भाडामा छुट नदिने समस्याको समाधानका लागि सरोकारबाला सरकारी निकाय पनि उदासिन रहेको पिडितहरुको गुनासो छ। जिल्ला प्रशासन कार्यलय र जिल्ला  ट्राफिक प्रहरी कार्यलय धनकुटाले भने हालसम्म कसैबाट भाडा छुट नपाएको गुनासो नआएको जनाएका छन। धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले छुट नपाएको गुनासो नआएको भन्दै त्यस्तो पाइएमा नियम कार्यान्वयनका लागि कडाई गरिने बताए। यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रतीले सरकारले दिएको भाडा छुटको विषयमा अहिलेसम्म कुनै उजुरी नपरेकाले कसैलाई कारबाही गर्न नसकिएको र त्यस्तो उजुरी परेमा तत्काल छानबिन गरेर कारबाही गरि नियम अनुसार भाडा छुटको व्यवस्था मिलाउने बताए।

राजधानी र तराई क्षेत्रमा सार्वजनिक यातायातका साधनमा केही हद सम्म तोकिएको छुटको व्यवस्था कार्यान्वयनमा रहेको भएपनि पहाडी जिल्लाहरुमा चल्ने यातायातका साधनले भने छुट दिन कञ्जुस्याई गर्ने गरेको यात्रुहरू बताउँछन। 

यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराईले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने विद्यार्थी र जेष्ठ नागरिक लगायतलाई भाडा छुट गरेवापत सरकारले सवारीसाधनको वार्षिक करमा सहुलियत दिने गरेको बताए। यातायात व्यवसायीहरुले गाडी भाडामा छुट दिने भन्दै सरकारबाट सहुलियत लिए पनि लक्षित वर्गलाई छुट नदिनु दुखद भएको पिडितहरुको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.