|

दैलेख : दैलेख जिल्लामा पनि विद्यार्थी भर्ना अभियानको थालनी गरिएको छ। अभियानअन्तर्गत आइतबार सा‌ंसद पार्वतीकुमारी विशुन्केसहितको टोली दैलेख सदरमुकामनजिकै रहेको दलित बस्तीमा पुगेर विद्यालयबाहिर रहेका बालबालिकाको खोजी गरेका छन्। 

नारायण नगरपालिका-३ मा रहेको प्युसेको दलित बस्तीमा पुगेको टोलीले स्थानीय समुदायसँग छलफलसमेत गरेको छ। उक्त दलित बस्तीमा रहेका अभिभावक र  बालबालिकासँग भर्ना अभियानका विषयमा छलफल गरेको थियो। छलफलका क्रममा स्थानीयवासीले खानेपानी, बेरोजगारीलगायतका समस्या सांसदसमक्ष राखेका थिए।

उक्त समुदायमा रहेका बालबालिकाहरू विद्यालय नजाने, गए पनि बीचैमा विद्यालय छोड्ने गरेको वडा-३ का वडासदस्य हर्कबहादुर नेपालीले जानकारी गराएका थिए। उक्त वस्तीमा ५० प्रतिशत बालबालिका अहिले पनि विद्यालयबाहिर रहेको बताइएको छ। 

छलफलमा सांसद विशुन्केले दलित बस्तीमा सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिइन्। उनले बस्तीमा खानेपानीको समस्या, बेरोजगारीको समस्यालाई समाधान गर्नका लागि आफूले पहल थाल्ने बताइन्। कार्यक्रममा समाजसेवी सविना विक, पत्रकार अमर सुनार, हिक्मत नेपालीले विद्यालय भर्ना अभियानका विषयमा समुदायलाई जानकारी गराएका थिए।

त्यसैगरी टोली नारायण नगरपालिका-३ प्युसेकै श्री जनजागृति आधारभूत विद्यालयमा पनि पुगेको थियो। सोही समुदायका विद्यालयबाहिर रहेका तीनजना बालबालिकालाई विद्यालयमा भर्नासमेत गरिएको छ।

विद्यालयनजिकै रहेको दलित बस्तीका तुल्छा नेपाली, धर्मराज नेपालीलाई सांसद विशुन्केले कक्षा एकमा भर्नासमेत गरेकी छन्। यस्तै. सोही विद्यालयमा अध्ययनरत सुमित्रा रेग्मीलाई कक्षा-६ मा भर्ना गरिएको छ। सुमित्राको आमा र बुबा नभएकोले सांसद विशुन्केले शैक्षिक सामग्रीसहित विद्यालयमा भर्ना गरेकी हुन्। विद्यालयमा भर्ना गरिएका तीनजना बालबालिकालाई सांसद विशुन्केले झोला, कापी, कलमलगायतका सामग्रीहरू प्रदान गरेकी हुन्।

विद्यार्थी भर्ना अभियानअन्तर्गत जिल्लाकै पहिलोपटक आयोजित कार्यक्रममा बोल्दै सांसद विशुन्केले कोही पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहुन भन्नका लागि सरकारले विद्यालय भर्ना अभियान संचालन गरेको बताइन्। सांसद विशुन्केले आर्थिक अवस्था कमजोर भएर होस् या अन्य कारणले बालबालिकालाई विद्यालय जानबाट वञ्चित गराइनु हुँदैन। उनले भनिन्, ‘अहिलेका बालबालिका भविष्यका कर्णधार हुन्।’ सरकारले चलाएको अभियानलाई शिक्षक,अभिभावक तथा स्थानीय समुदायले समेत सहयोग गर्नुपर्ने सांसद विशुन्केको भनाई थियो।

सरकारले वैशाख  एकदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो। यसअघि शिक्षा मन्त्रालय,शिक्षा विभाग र शिक्षासँग सम्बन्धित निकायको पहलमा सुरु भएकाे अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै शुभारम्भ गरेका थिए। विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सुरु गरिएको हो। यस पटक ‘हामी सबैका इच्छा,अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारा तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.