|

दार्चुला : दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-१ बँलाचमा निर्माण सम्पन्न गरिएको चमेलिया जलविद्युतले अहिले देशलाई उज्ज्यालो दिइरहेको छ, तर सदरमुकामबासी भने भारतीय बिजुली प्रयोग गर्न बाध्य भएका छन्। भारतीय विद्युत् खरिद गर्दा नेपाल विद्युत् प्राधिकरण दार्जुलाले पछिल्लो अाठ महिनाको अवधिमा ९५ लाख बढी रुपैयाँ घाटा व्यहोरेको छ।

दार्चुलाका झण्डै साढे ७ हजार विद्युत् उपभोक्ताहरू भारतबाट ल्याइएको बिजुलीको प्रयोग गर्दै आएका छन्। जिल्लाको महाकाली नदी किनारका क्षेत्रमा तीनवटा फिडरबाट भारतबाट बिजुली ल्याइएको छ।  सदरमुकामबाट २५ किलोमिटर टाढा पर्ने जौलजिबी फिडर, उत्तरी क्षेत्र हुती र दक्षिणी क्षेत्र लालीबाट भारतीय बिजुली भित्र्याइएको हो।

भारतबाट बिजुली ल्याउँदा एक वर्षमा एक करोडभन्दा बढी घाटा हुने नेपाल विद्युत् प्राधिकरण दार्चुलाका प्रमुख दयाराम साहले बताए। ‘महँगोमा किनेर सस्तोमा बेच्नुपर्ने र प्राविधिक तथा अन्य कारणले हुने चुहावटका कारण एक वर्षमा एक करोडभन्दा बढी रकम घाटा व्यहोर्नुपरेको छ,’ उनले भने। 

भारतबाट ल्याइएको बिजुलीका कारण विद्युत् प्राधिकरणलाई गत साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा ९५ लाख २३ हजार २ सय २९ रुपैयाँ घाटा भएको नेपाल विद्युत् प्राधिकरण दार्चुलाका पछिल्लो तथ्यांकले देखाएको छ। भारतबाट बिजुली किन्दा भारतीय ६ रुपैयाँ ४५ पैसा पर्छ भने औसत नेपाली ६ रुपैयाँमा बिजुली बेच्नुपर्दा प्राधिकरणलाई घाटा हुने गरेको हो।

गत साउनदेखि फागुनसम्म नेपाल विद्युत् प्राधिकरण दार्चुलाले भारतबाट १८ लाख ५२ हजार ४ सय ८० युनिट बिजुली खरिद गरिसकेको छ। पाधिकरणले १ करोड ९१ लाख १७ हजार ५ सय ९३ रुपैयाँ साठी पैसा भारतलाई तिरेको छ। प्रतियुनिट नेपाली ६ रुपैयाँमा बेच्दा १ करोड ११ लाख १४ हजार ८ सय ८० रुपैयाँ हुन आउँछ। 
विद्युत् किनबेचमा प्राधिकरणले पछिल्लो आठ महिनामा ८० लाख २ हजार ७ सय १३ रुपैयाँ ६० पैसा घाटा व्यहोरोको हो। १९ प्रतिशत चुहावटलाई जोड्दा घाटा ९५ लाख २३ हजारभन्दा बढी पुगेको विद्युत् प्राधिकरण दार्चुलाले जानकारी दिएको छ।

थप घाटा

भारतीय पक्षले पटक-पटक विद्युत् अवरोध गराउँदा ग्राहक मर्कामा पर्नुका साथै विद्युत् प्राधिकरणले समेत थप घाटा व्यहोर्नुपरेको प्रमुख साहले जानकारी दिए। ‘पछिल्लो घाटा हेर्दा १९ प्रतिशत देखिन्छ। यदि नेपाली विद्युत् आउने हो भने यो घाटा सात प्रतिशतमा झार्न सकिन्छ,’ प्रमुख साहले भने ।

दसैँअघि नेपाली विद्युत्

यो वर्षको दसैँसम्म दार्चुला सदरमुकाममा नेपाल कै बिजुली पुर्‍याउने लक्ष्य राखेको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका आयोजना प्रमुख इन्जिनियर चिज गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार दार्चुलाको महाकाली नगरपालिका-७ थालिगाढमा निर्माण गरिन लागेको सबस्टेसन निर्माणको कार्य ८० प्रतिशत सकिएकाे छ। गोकुलेश्वरदेखि सबस्टेसनसम्म लाइन विस्तार गर्ने काम पनि चाँडै थालिनेछ।

‘सिभिलको काम ८० प्रतिशत सकिएको छ। इलेक्ट्रोनिकल सामग्री मेनिफेक्चरिङमा छ।’ प्रमुख गुरुङले भने, ‘यो वर्षको दसैँसम्म सदरमुकामबासीले नेपालको बिजुली बाल्न पाउनेछन्।’ उनका अनुसार सबस्टेसनको विद्युतीय सामग्री बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङ कम्पनीले आपूर्ति गर्ने सम्झौता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.