पाँचथर : सुन्तलाको राम्रो उत्पादन हुने फिदिमको लुम्फाबुङमा सुन्तला मासिँदै गएको छ। व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै सुक्न लागेका बोटहरु छन्। कतिपयका बारीमा सुन्तला मासिसकेका छन्। सुख्खाका कारण सुन्तलाका बोट मर्ने गरेका हुन्। फलेका सुन्तला पनि साना र अमिलो हुने गरेको किसानहरु बताउँछन्।
एक दशकअघिसम्म जीविकोपार्जनको आधार रहेको सुन्तला सुख्खाले मासिँदै गएपछि किसानहरु चिन्तित बनेका छन्। लुम्फाबुङडाँडाकी ७० वर्षीया बुधरानी तुम्बापो लावतीले अचेल बारीमा सुन्तलाको एउटा पनि बोट नभएको बताइन्। डेढ दशकअघि लुम्फाबुङकै सर्वाधिक सुन्तला उत्पादक किसान लावतीले बारीको गरामा तीनदेखि चार लाइनसम्म सुन्तला रहेको र हाँगाले थाम्न नसकेर टेको दिनु परेको सम्झना गरिन्। ‘बारी नै पहेँलपुर हुन्थ्यो, स–साना हाँगामा पनि झुप्पा–झुप्पा फल्थ्यो,तुर्लुङ तुर्लुङ झुण्डिएर,’ उनले भनिन्, ‘५५ सालतिरै ४० हजारको सुन्तला बेच्थेँ, घरखर्च धान्नेदेखि लिएर सबै गर्जो टार्ने सुन्तला नै थियो। अहिले त होपी (छैन)।’
उनको बारीमा अहिले सुन्तलाका थुप्रै ठुटाहरु छन्। वर्षा कम हुने र गाउँमा भएका पानीका मुहान पनि सुकेकाले सुन्तलासँगै कागती,ज्यामिर र जुनार सुख्खाका कारण क्रमशः मर्दै गएका हुन्। सुन्तलाका बोट सुकेपछि ढाल्दै दाउरा बाल्न थालेका छन्। सुन्तलाका लागि प्रसिद्ध गाउँमा नै सुन्तला मासिँदै गएपछि उहिले सुन्तला फल्थ्यो अरे भन्ने अवस्था आएको सोही ठाउँकी यमुनादेवी लावतीले भनिन्। ‘म त बुहारी परेँ ,सुन्तला देखेरै फाचा अाएको (बिहे गरेर) होलान् भनेर हामीलाई जिस्काउँथे,’ उनले थपिन्, ‘अचेल त सुन्तला नै मासिँदै गएपछि जिस्काउने मेलै सकियो।’ गाउँका अधिकांश बगानमा सुन्तला मरेका छन्। विरुवालाई बचाउन नसकिएपछि बारी खाली बनाउँदै लगेको किसानहरुको भनाइ छ। एक दशकअघिसम्म ट्रकका ट्रक सुन्तला लुम्फाबुङबाट जिल्लाबाहिर निर्यात हुने गर्दथ्यो।
सुन्तलाका बोट मर्नुमा कतिपय किसानले भने जलवायु परिवर्तनको असर हुन सक्ने बताएका छन् । ‘पहिले हुने अहिले नहुने,जलवायु परिवर्तनकै असर त होला नि,’ यमुनादेवीले भनिन्, ‘अचेल त माथि लेकमा पो फल्न थाल्यो, पहिले हाम्रोमा राम्रो फल्थ्यो ।’ बुढापाकाकाअनुसार लुम्फाबुङमा रसिलो, स्वादिलो र ठूलठूला सुन्तला फल्थ्यो। पाँचथरको साविकको लुम्फाबुङसँगै आङसराङ, चोकमागु, सिवा, फाक्तेप, चिलिङदेन, कुरुम्बा, स्याबरुम्बा, रानीगाउँ, थर्पु र नाँगीलगायतका गाविसहरुमा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। रोपेपछि खासै स्याहार गरिरहन नपर्ने नगदेबाली सुन्तला जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने अलैची र चिया पछिको बाली हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।