पार्टी एकताको मिति भोलि टुंगिन्छ : वरिष्ठ नेता श्रेष्ठ

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा निकै हतारमा देखिन्थे। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोल्दै गर्दा कार्यक्रममा पुगेका प्रचण्ड करिब डेढ घण्टा त्यहाँ रहे।

शिक्षामन्त्रीले करिब आधा घण्टाअघि बोल्दा उनी निकै हतारमा देखिन्थे। उनी घरिघरि घडी पनि हेरिरहेका थिए। त्यसपछि अर्का एक वक्ताले करिब आधा घण्टा कार्यपत्र प्रस्तुत गरे। त्यसबेला पनि प्रचण्ड निकै हतार गरिरहेका देखिन्थे। उनी बेलाबेला आयोजकसँग कानेखुसी गरिरहेका थिए। उनले छिटो गर्न आग्रह गरेको प्रस्ट देखिन्थ्यो। करिब एक घण्टापछि बोल्ने समय पाएका प्रचण्डले कार्यक्रमको सुरुमा आफूलाई धेरै हतार र धपेडी रहेको बताएका थिए।

बोल्न सुरु गर्दै गर्दा उनले भने, ‘मलाई धेरै कुरामा व्याख्या विश्लेषण गर्ने समय बिलकुल छैन। तपाईंहरूले थाहा छ, पार्टी एकता गर्ने र यसलाई निष्कर्षमा पुर्‍याउने अतन्त्य गम्भीर मोड र अवस्थामा छौँ र म त्यो कार्यमा केन्द्रित छु। आज बिहान झण्डै दुई अढाई घण्टा प्रधानमन्त्रीसँग छलफलमा बस्यौँ।’   मंगलबार बिहानभित्रमा सबै काम सक्नुपर्ने अवस्था रहेको उनले बताए।

उनले भने, ‘हामीमा अहिले बहुत ठूलो जिम्मेवारी छ। केपी शर्मा ओलीजी र म बीचमा कुरा भएर हामी दुवैले एउटा एउटा जिम्मेवारी लिएर आएका छौँ। आज दिनभरि र भोलि बिहानसम्म आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ। अहिले पाँच/सात मिनेट मात्र बोल्न भ्याउँछु होला। अहिले मेरो दिमागमा त्यही कुरा खेलिरहेको छ।’

ओली प्रचण्डको के हो जिम्मेवारी?

सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड करिब अढाई घण्टा ‘वान टू वान वार्ता’मा बसे। उनीहरूबीचको छलफलले मंगलबार बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गर्‍यो। 

उक्त बैठकमा विवादित विषयमा छलफल हुने बताइएको छ। प्रचण्डको सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रचण्डले मंगलबार बिहानसम्म पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नेछन्। 

यस्तै, गत चैत २२ गते पार्टीको एकताका लागि बनेको राजनीतिक मस्यौदा कार्यदल र सांगठनिक मस्यौदा कार्यदलले बुझाएको प्रतिवेदनमा आफ्नो पार्टीको धारणा तयार गरेर बैठकमा सहभागी हुने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ। गत चैत २२ देखि बस्न नसकेको एकता संयोजन समितिको बैठकले केही सकारात्मक कुरा हुनसक्ने स्रोतको दाबी छ।

पर्टी एकताका लागि माओवादीले आधा हिस्सा खोजेपछि एकतामा केही जटिलता देखिएको थियो। तर दुवै दलका नेताहरूले एकता जसरी पनि गर्नुपर्ने धारणा राखेपछि सोमबार बस्ने एकता संयोजन समितिको बैठकबाट केही नयाँ कुरा आउन सक्ने बताइएको छ। यस्तै, माओवादीले पार्टीको प्रस्तावनामा ‘जनयुद्ध’ राख्नुपर्ने प्रस्ताव गरेको छ भने एमालेले जनयुद्धको सट्टा ‘जनक्रान्ति’ राख्न प्रस्ताव गर्दा केही विवाद आएको छ। 

माओवादी केन्द्रले एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्यभित्र हँसिया-हथौडा राख्नुपर्ने प्रस्ताव गरेको छ भने एमालेले सूर्य चिह्न जनतामाझ लोकप्रिय भएकाले सूर्य नै राख्नुपर्ने अडान राखेको छ। 

संगठनमा आधा हिस्सा नभए र प्रस्तावनामा जनयुद्ध नराखिएक एकता नगर्न माओवादी कै कतिपय नेताहरूले दबाब दिन थालेपछि प्रचण्ड अफ्ठ्यारोमा परेका बताइएको छ।

पार्टी एकताको मिति भोलि टुंगिन्छ : वरिष्ठ नेता श्रेष्ठ

लामो समयपछि मंगलबार बस्न लागेको एकता संयोजन समितिको बैठकले केही निष्कर्ष निकाल्ने अनुमान धेरैको छ। ओली र प्रचण्डको लामो समयपछि बसेको वार्ताले केही सकारात्मक सन्देश आएको नेताहरू बताउँछन्। 

मंगलबार बस्ने बैठकले एकताको मिति टुंग्याउन सक्ने माओवादी वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए। उनले भने, ‘भोलिको बैठकबाट एउटा निष्कर्षमा पुग्ला तर हामीले ९ गते  गर्ने सामान्य समझदारी गरेका हौं तर नगर्ने पनि निर्णय गरेका छैनौँ। समयको दबाब एकदम बढी छ। के गर्ने भन्ने भोलिको बैठकले टुंगो लगाउँछ।’

बैठकमा दुई कार्यदलले बुझाएको प्रतिवेदनमाथि गम्भीर छलफल हुने नेता श्रेष्ठले बताए। उनले थाहाखबरसँग भने, ‘अस्ति प्रारम्भिक रूपमा मात्र छलफल भएको छ। भोलिको बैठकमा त्यो छलफललाई पूर्णता दिने काम हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.