प्रदेश ५ को आंशिक बजेट सभाबाट पारित

|

बुटवल : प्रदेश ५ सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको आंशिक बजेट प्रदेशसभाले पारित गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारले ल्याएको विनियोजन विधेयक पनि छलफलपछि पारित गरेको छ। 

छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोख्रेलले संघीय सरकारबाट प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नभएकाले चाहेजसरी बजेट ल्याउन नपाएको बताए। मुख्यमन्त्रीले समानीकरण अनुदानलाई प्रक्रिया पुर्‍याएर खर्च गर्नका लागि बजेटको रूपमा पेस गर्नुपरेको उल्लेख गर्दै आगामी बजेट व्यापक छलफलपछि ल्याउने पनि बताए। मुख्यमन्त्री शंकर पोख्रेलले भने, ‘छोटो समयमा नै बजेट ल्याइएकाे हाे। त्यस कारण बजेट ल्याउनुपूर्व सबै सांसदहरूसँग व्यापक छलफल गर्न सकिएन। बजेटले समग्र प्रदेश र सबै सांसदको भावनाको प्रतिनिधित्व गरेको छ।’

आगामी आर्थिक वर्षका लागि ल्याइने पूरा अवधिको बजेटपूर्व पर्याप्त छलफल गरेर बजेट बनाउने र अहिले नसमेटिएका र सांसदहरूले औचित्य पुष्टि हुने गरी ल्याएका योजनाहरू प्रदेशकै योजनाको रूपमा अगाडि बढाउने प्रतिवद्धता मुख्यमन्त्रीले जनाए।अहिले कसैमाथि दोष लगाउने समय भइनसकेको भन्दै मुख्यमन्त्रीले प्रदेश सरकार संचालनमा नयाँ अभ्यास भएकाले अनुभव गर्दै र सिक्दै जाने अवस्थामा रहेको पनि बताए।

विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले हरेक काममा प्रमुख प्रतिपक्षी दलका नेतालाई सहभागी गराइएको भनी मुख्यमन्त्रीले दिएको अभिव्यक्ति झूटो भएको भन्दै दुःख व्यक्त गरे। बजेटमा रोल्पाको थवाङमा जनयुद्ध स्मारक तथा संग्रहालय, गुल्मीको हरेवामा जीवराज आश्रित संग्रहालय र दाङको धर्नामा नेत्रलाल स्मृति पार्क निर्माण गर्ने योजना ल्याइए पनि रूपन्देहीकै शहीद यादवनाथ आलोक र रामप्रसाद चौधरीको बारेमा बजेटमा उल्लेख नहुनु दुःखद भएको मुख्यमन्त्री पोख्रेललेको भनाइ थियो। उनले नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल, पाल्पा दरबार,अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्वारीलगायतका महत्त्वपूर्ण सम्पदाका बारेमा बजेटले नसमेटेको भन्दै आलोचना गरे। 

अर्की सांसद रमा अर्यालले बजेट शीर्षकअनुसार भन्दा पनि आलंकारिक र गोलमोटल रूपमा ल्याइएको आरोप लगाउँदै बजेटमा लक्ष्य किटान नभएको टिप्पणी गरिन्। उनले बजेटअघि स्थितिपत्र, त्यसको आधारमा नीति कार्यक्रम, नीति कार्यक्रमपछि र सांसदसँग पर्याप्त छलफल गरेर बजेट ल्याउनुपर्नेमा सरकारले मनलाग्दी गरेको भन्दै आलोचना गरिन्।

छलफलमा सहभागी माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले भैपरी आउने खर्चको नाममा ठूलो रकम विनियोजन गरिएको भन्दै जनसहभागितामा आधारित आयोजना पनि बजेटमा समेटनुपर्ने कुरामा जोड दिए। विधि विधान बनाएर रकम खर्च गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउँदै उनले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। माओवादी केन्द्रकै अर्का सांसद ईन्द्रप्रसाद खरेलले कतिपय जिल्लामा योजनै योजना र कतिपय जिल्लामा योजना नै नपरेकामा सम्बन्धित जिल्लाका सांसदहरूसँग छलफल गरेर योजना ल्याउनुपर्ने कुरामा जोड दिए।

नेकपा एमालेका सांसद कृष्ण न्यौपानेले समग्रमा बजेट राम्रो भएको बताउँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम रूपन्देहीको देवदहको एकीकृत विकास गर्नुपर्ने विचार व्यक्त गरे। एमालेकै अर्का सांसद कुलप्रसाद पोखरेलले उच्च शिक्षामा राज्यको लगानी अत्यन्तै न्यून रहेको भन्दै शिक्षाको विकासमा बजेटको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, एमालेका अर्का सांसद खड्गबहादुर खत्रीले बजेट मार्गदर्शक र सराहनीय रहेको बताए।

छलफलमा सहभागी संघीय समाजवादी फोरमका सांसद सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाका लागि विनियोजन गरिएको रकम कटौती गर्नुपर्ने बताउँदै विविध शीर्षकमा पनि ठूलो रकम छुट्याएर केमा खर्च गर्न खोजिएको हो? भनी प्रश्न गरे।

प्रदेशसभाकोअर्को बैठक बैशाख १२ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.