|

सिलिङगे (मकवानपुर) : असल श्रीमान् श्रीमती रोज्ने, विवाह गर्ने, सन्तान जन्माई उनीहरूलाई राम्रो मान्छे बनाउने। यो सबैको साझा चाहना हो। यस्ता चाहनामा कहिलेकाहीँ ठेस लाग्दा भने मानिसलाई असह्य पीडा हुन्छ। 

मकवानपुरको विकट गाउँ राक्सिराङ–६ सिलिंगेका सञ्चलाल र चन्द्रीमाया चेपाङ जोडीलाई पनि यस्तै पीडा छ। तैपनि उनीहरू जीवनलाई सहज बनाउन लागिपरेका छन्।

०५९ मा सञ्चलाल विवाहका लागि केटी हेर्ने क्रममा काँगडाको विकट गाउँ घेराङ पुगे। त्यतिबेला १८ वर्षका सञ्चलालको नजर ११ वर्षीया चन्द्रीमायासँग नजर जुध्यो। 

चेपाङ समुदायमा अहिले पनि विवाहका लागि उमेर बाधक हुँदैन। त्यो बेला त झन् कसरी बाधक बन्थ्यो र। त्यसैले चन्द्रीमायाको बिहे गर्ने उमेर नभए पनि उनीहरुबीच मागी विवाह भयो। सञ्चलाल र चन्द्रीमायाको नयाँ जीवन सुरु भयो। जिन्दगी खुशीसाथ बित्यो। तर, समय बित्दै जाँदा उनीहरुका खुसीमा बादल लाग्न थाल्यो। विवाह बन्धनमा बाँधिएपछि सन्तान पाउने सबैको चाहना झैं उनीहरुको चाहना पूरा हुन सकेन। काखमा सन्तान लुटपुट्याएर खेलाउने सपना अधुरो बन्यो।

‘चाहेर के गर्नु भगवानले नदिएपछि,’ सञ्चलालले मलीन स्वरमा भने, ‘चाहिन्छ भन्ने लाग्छ, फेरि भयो भन्ने पनि लाग्छ।’ 

चिकित्सकले सञ्चलाल र चन्द्रीमायाको जोडीबाट सन्तान नहुने प्रमाणपत्र दिएको छ वर्ष भयो। तैपनि उनीहरुको मनमा सन्तान भैहाल्छ कि भन्ने आशाका मुना ओइलाएको छैन। ‘१० वर्ष बच्चा नभएकाले पनि बच्चा जन्माएका छन्', सञ्चलालले भने, 'के थाहा,कुनै बेला भइहाल्छ कि!’ यो जोडीले आशाका दिन बिताएको १५ वर्ष भयो।

समाजमा बच्चा नहुँदा श्रीमानले अर्की ल्याएका छन्। श्रीमती अर्कैसँग गएका कति दृष्टान्त छन्। तर, यो दम्पती सँधै सँगै जीवन बिताउन चाहन्छन्। सञ्चलालले भने, ‘जे भए पनि जुनीजुनीलाई सँगै बस्छौं।’। उनले यसो भनिरहँदा चन्द्रीमायाले सहमति जनाइन्।

‘१२ छोरा १३ नााति, बुढाको धोक्रो काँधैमाथि’ भन्ने उखान झैं गाउँमा पाँच\छ सन्तान भएका आमा–बुबाको दुःख पनि उनीहरुले देखेका छन्। त्यस्तो देख्दा सन्तान नहुँदा पनि ठिकै छ भन्ने लाग्ने गरेको चेपाङ दम्पतीले बताए। सञ्चलालले थपे, ‘सन्तान पाउने नि मर्ने नै हो, नपाउने नि मर्ने नै हो।’

सन्तान नहुने गाउँमा उनीहरु मात्रै होइनन्। अरु पनि छन् भन्छन् चेपाङ दम्पती। त्यसैले एक्लै छैन भनेर चित्त बुझाउँदै आएको उनीहरु बताउँछन्। तर, सञ्चलालले कहिले काहीँ श्रीमतीलाई अर्कैसँग जाऊ र उनकी श्रीमतीले अर्की ल्याऊ भनेर सल्लाह दिएका रहेछन्। ‘मेरो कारणले महिलाको अधिकारलाई रोक्न भएन भन्ने लाग्छ,’ सञ्चलालले भने, ‘श्रीमतीले पनि अर्काे ल्याऊ भइहाल्छ कि भन्छिन्।’

तर, उनीहरू एक अर्काको विश्वासमा बाँधिएका छन्, एकापासमा छुट्नै चाहँदैनन्। बच्चा नभएपनि सँगै जिउने सँगै मर्ने कसम खाएका छन्। चन्द्रीमायाले भनिन्, ‘बल गरेर हुँदैन, आफ्नो भाग्य हो।’ 

उनीहरुले गाउँमै पसल चलाएका छन्। त्यहाँ उनीहरु दैनिक करिब दुई हजार रुपैयाँ कमाउँछन्। सन्तान नभएको पीडा भए पनि उनीहरू जिन्दगीलाई सुखमय बनाउने कोसिस गरिरहेका छन्। तैपनि उनीहरुको मनमा सँधै एउटा आशाको मुना भने जीवितै छ। चेपाङ दम्पती भन्छन्, ‘कुनै बेला भगवानले दिइहाल्छन् कि!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.