|
फाइल फोटो

चितवन ः छिमेकी मुलुक चीनलाई दुई जोडी गैँडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया सुरु भएको छ।

केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए। चिनियाँ प्रतिनिधि समेत चितवन आएकाले बिहीबारपनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन हुँदैछ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले गैँडा नियन्त्रणका लागि प्रक्रिया भने सुरु भैसकेको बताए। अनुकुल समयमा गैँडा नियन्त्रणमा लिइने जनाइएको छ।

चिनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ्ग चितवन आईपुगेको र केही दिनमा थप प्रतिनिधिहरु आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए।  

सरकारले विसं २०७१ सालमा नै चीनलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरिसकेको छ। यहाँबाट कम उमेरका गैँडा पठाईने छ। पहिलो चरणमा २ वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ। बोमामा राखेर आगामी असार महिना भित्रमा चीन पठाइने जनाइएको छ।

‘एकैचोटी गैँडा पठाउँदा मर्न सक्छ, त्यसैले प्राकृतिक वासस्थानबाट सिमित क्षेत्रमा गैँडा राख्छौं, निकुञ्ज विभागका महाननिर्देशक मनबहादुर खड्काले भने, बानी परेपछि मात्रै गैँडा पठाउँछौं।’ 

सौराहा नजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाई र २० मिटर चौडाईको बोमा बनाइएको छ। चितवनबाट पठाइने गैँडा मध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्काे जोडीलाई सांघाई वाईल्ड एनिमल पार्कमा राखिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.