|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे आज तीन घण्टा  छलफल भए पनि कुनैं टुंगोमा नपुगि टुंगिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो भएको छलफलमा पार्टी एकता प्रक्रियामा जादा अपनाउने विधिका बारेमा  छलफल भएको बताइएको छ।

यसअघि नै घोषणा भएको पार्टी एकताको बिषयलाई लिएर पछिल्लो समय विधि र सिद्धान्तका कतिपय विवाद सतहमा आएका छन्। पछिल्लो समयमा आएर माओवादीले समानताका आधारमा पार्टी एकता हुनुपर्ने बताउँदै थालेको छ। त्यस्तै, चुनाव चिह्न, माओवादी जनयुद्ध, एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद लगायतका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अझै यकिन भैनसकेको बताइएको छ।

सांगठनिक संरचना कस्तो हुने भन्ने विषय टुंगो लागेपनि त्यसमा दुई पार्टीबाट कुन आधारमा छनोट गर्ने भन्ने विषयमा विवाद रहेको छ। यसअघि वैशाख ९ गते पार्टी एकता गर्ने भनेर गरिएको तयारी पनि यी विवादका बिषय कायम रहेकाले असम्भव भएको हो।

ओली र प्रचण्डबीचको आजको बैठकमा पार्टी एकता संयोजन समितिका लागि दिने गृहकार्य सम्बन्धि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। उनले भने, 'कुन कुन तहमा के विषयमा संयोजन समितिले काम गर्ने भन्ने टुंगो भने लागेन। तर वार्ता सकारात्मक रुपमा नै सकिएको छ '

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीचको छलफल सकारात्मक रुपमा पार्टी एकतालाई अगाडि बढाउने सहमति गरेर सकिएको बताए। उनले भने, 'जुन बिन्दुबाट वार्ता सुरु हुनुपर्थ्यो त्यहीँबाट सुरु भयो। यसलाई सकारात्कम ढंगले टुंग्याउने सहमतिका साथ आजको वार्ता सकियो।'

आजको वार्तामा पार्टीको चुनाव चिह्न, समानताका आधारमा एकता हुनुपर्ने  माओवादीको मागका बारे छलफल भएको उनको भनाइ थियो।

यसअघि बसेको एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतामा देखिएका विवाद हल गर्ने जिम्मा दुवै अध्यक्षलाई दिएको थियो। उक्त जिम्मेवारी पाएपछि भएको यो पहिलो भेट हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.