|

जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकारले प्रदेशलाई असफल बनाउन लागेको आरोप लगाएका छन्। उनले केन्द्र सरकारले प्रदेश संचालनका लागि दिनुपर्ने अधिकारहरूलाई सर्वसत्तावादको अहंकार देखाएर आफैँसँग राख्न खोजेको आरोप लगाउँदै अधिकारबाट वञ्चित गरेर संघीयता र प्रदेशलाई भत्काउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका हुन्।

नेपाल ट्रेड युनियन कांग्रेस धनुषाको छैटौँ जिल्ला अधिवेशनको शपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै नेता निधिले भने, 'प्रदेशमा मुख्यमन्त्री तथा गृहमन्त्री त छ तर उसको हातमा न शासन छ, न त प्रशासन नै अनि प्रदेश सरकारले कसरी शासन सत्ता संचालन गर्ने? कसरी सरकारको भूमिकामा जनताले विश्वास गर्ने?'

पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले एमाले र माओवादी दुवै संघीयताको पक्षधर नरहेको आरोप लगाउँदै अहिलेको कम्युनिस्ट गठवन्धन अनिच्छित मिलन रहेको टिप्पणीसमेत गरे। उनले कम्युनिस्टको गठबन्धनले जाने बुझेर संघीयता र संविधानलाई असफल बनाउन लागेको बताउँदै संघीयताको सिद्धान्तअनुसार प्रदेश सरकारको अधिकार प्रदेश मातहत दिनुपर्ने तर त्यसको विपरीत सरकारले अधिकार प्रत्यायोजन नगर्न षड्यन्त्र गरेको आरोप लगाए। उनले भने, 'सातवटै प्रदेशमा रहेको जिल्ला प्रहरी कार्यालयसहित उसको मातहत रहेका प्रहरी कार्यालयहरू तत्कालका लागि प्रदेश सरकारको मातहत दिनुपर्ने भनी मैले आवाज उठाएँ तर टेरपुच्छर लगाइएन।'

नेता निधिले प्रदेश सरकार नै संविधान कार्यान्वयनको पहिलो रूपरेखा रहे पनि अहिलेको सरकार भ्रमण खेतीमा लागेको आरोप लगाउँदै मुख्य मुद्दा छाडेर रेल र पानी जहाज चलाउनमा व्यस्त रहेको भन्दै कटाक्ष गरे। वर्तमान सरकारले दिएको समृद्धिको नारा खराब नरहे पनि राजनीतिक संक्रमणको कार्य पूरा नभएसम्म समृद्धिको नारा दिनु मूर्खता हुने उनको भनाइ थियो।

नेता निधिले नेपाली कांग्रेसको केन्द्रीय बैठक सम्पन्न भएसँगै जिल्ला अधिवेशनको मिति तय गर्नसमेत निर्देशन दिए। नेपाल ट्रेड युनियन कांग्रेस धनुषाको बैशाख २ गते भएको निर्वाचनबाट २० सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। त्यसैगरी २० सदस्यीय प्रदेश प्रतिनिधि र १० सदस्यीय राष्ट्रिय माहाधिवेशन प्रतिनिधिसमेत चयन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.