|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीको एकता सम्मानजनक आधारमै हुने बताएका छन्। पार्टी एकता संयोजन समितिले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले एकता कसैको अपमानको अधारमा नहुने स्पष्ट पारे।

उनले भने, 'एकता गर्दा अपमानको बीच एकता हुँदैन एकता सम्मानजनक नै हुन्छ।' अब दुई पार्टीमा एकताबाहेकको विकल्प नै नरहेको बताए। उनले भने, 'हामी फुटेर अरूले यसको लाभ लिने हुनुहुँदैन भनेर हामी एक भयौँ। चुनावी तालमेल गर्ने कि पार्टी एकता मात्र गर्ने? पार्टी एकताका कुरा गर्दा अलिकति एकता हुनुभन्दा अगाडि केही यताउता लाग्न सक्छ।'

एकता रोक्न कुनै आधार नरहेको उनले बताए। उनले भने, 'अलिअलि सेन्टिमेन्टल भाषण गरेर प्रचण्डजीले प्रचण्ड र ओलीले नमाने पनि एकता हुन्छ भन्नुभयो। म त्यस्तो भन्दिनँ। यो काम हामीले गरेको हो नि! हामीले मिहिनेत गरेका हौँ। एकता सुपरमार्केटमा घुम्न गएको बेला लिएर आएका होइनौँ।'

एकतालाई सफल पारेर देशको विकासमा लाग्ने ओलीले बताए। उनले भने, 'अब एकतालाई सफल पार्नेबाहेक अरू कुनै काम हुँदैन। यो ठाउँमा पुगिसक्यौँ, जुत्ता मिलेन लगाउँदैनौँ भनेर हुँदैन जुत्ता नमिले पनि ताछतुछ पारेर लगाउनुपर्छ।'

उनले पार्टी एकता मेलामा गएर लगाएको मीत जस्तो नभएको स्पष्ट पारे। उनले भने, 'यतिकै हामीले एक भयौँ भनेका होइनौँ। यो कुनै मेलामा लगाएको मीत होइन। हाम्रा नीति र सिद्धान्तमा मिलेका छौँ। हामी अब समृद्धितर्फको यात्रामा अगाडि बढ्छौँ। अब एकता हुन रोक्नुपर्ने कहीँ कतै कारण छैन।'

उनले अब पछाडिका कुरा गर्ने बेला नरहेको बताए। उनले भने, 'पहिला माओवादीले गल्ती गर्‍यो होला, उसले गल्तीको परिणाम पनि भोग्यो होला। एमालेले पनि गल्ती गरेर गल्तीको परिणाम पनि भोग्यो होला। त्यही बेला प्रचण्डले मलाई भक्कु गाली गर्नुभयो होला, मैले पनि गरेँ होला। हामीबीच भनाभन भयो तर अब फर्केर हेर्ने अवस्था छैन।'

उनले निकट भविष्यमा एकता हुनेमा ढुक्क हुन कार्यकर्तालाई विस्वस्त पनि पारे। उनले भने, 'एकता निकट भविष्यमा हुन्छ। हामी धेरै पटक एकता गर्दै-गर्दै आएकाले मिल्नुभन्दा अगाडि र पछाडिको कुरा थाहा छ। विहे गर्नुभन्दा अगाडि त दुलही, दुलाहाको घरमा अर्कै हुन्छ। विहे भइसकेपछि त्यो घरको बिराला, बाच्छो पनि माया लाग्छ। यो पार्टी एकता पनि त्यस्तै हो। एकताभन्दा अगाडि अलिअलि यताउता हुनु फरक कुरा हो। अघि कार्यक्रमअघि भए पनि त्यस्तै हो। पछि सम्झेर हाँस्नुपर्छ आफैँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.