बैठक बुधबारसम्म सकिने प्रवक्ता शर्माको संकेत

|
फाइल तस्बिर

काठमाडौं : नेतृत्वको कमजोरीका कारण चुनावमा अनपेक्षित नतिजा आएको कांग्रेस केन्द्रीय सदस्यहरूले बताएका छन्। केही दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन्। सभापति शेरबहादुर देउवाले स्वेच्छारी ढंगबाट पार्टी सञ्चालन गर्न खोजेका कारण अनपेक्षित नतिजा आएको धेरैजसो केन्द्रीय सदस्यहरुले बताएका छन्।

देउवाको पार्टी संचालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको १३औँ महाधिवेशनमा समर्थन गरेका कतिपय नेताले देउवको साथ छोड्दै छन्। १३ औँ महाधिवेशनमा देउवालाई समर्थन गरेका पार्टीका पुराना नेता केबी गुरुङले समेत समर्थन फिर्ता लिएको घोषणा गरिसकेका छन्। उनले देउवालाई समर्थन गर्नु आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल भएको बताएका थिए।

गत चैत्र ९ गतेदेखि जारी बैठकमा अहिले पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। चैत्र ९ देखि सुरु भएको बैठक पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गते स्थगित भएको थियो। उक्त बैठक आइतबारबाट पुनः सुरु भएको हो। बैठकमा सोमबार दिउँसोसम्म ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

चुनावको समीक्षा गर्न भन्दै बोलाइएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले गत मंसिरमा भएको निर्वाचनमा नेतृत्वकै कारण अनपेक्षित नतिजा आएको बताइरहेका छन्। उनीहरूले पार्टीमा सुधार ल्याउनुपर्ने धारणासमेत राखिरहेको प्रवक्ता शर्माले बताए। यस्तै, बैठकमा पार्टीका सबै कमिटी तत्काल भंग गरी  अधिवेशन गरेर तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने बैठकमा धारण आइरहेको बताइएको छ।

कतिपय केन्द्रीय सदस्यले सभापति देउवा गुटलाई बलियो बनाउन लगेको आरोप लगाएका छन्। अझै चार केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने भए पनि गर्न नसकेर पार्टी ध्वस्त बनाएको देउवालाई केन्द्रीय सदस्यले आरोप लगाएका छन्।

कतिपय केद्रीय सदस्यहरूले टिकट वितरण नै मनोमानी गर्दा हार ब्यहोर्नुपरेको बताएका छन्। पार्टीका केन्द्रीय सदस्यहरूले अब महासमिति बैठक बोलाएर तत्काल महाधिवेशन बोलाउनुपर्ने माग गरेका छन्। कतिपय केन्द्रीय सदस्यले नेतृत्वको अलोचना गरिरहेका छन् भने कतिपयले नेतृत्वको पक्षमा बोल्दै हारको जिम्मा सबै पार्टी नेताले लिनुपर्ने बताएका छन्। 

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठक निर्वाचनको समीक्षमा मात्र केन्द्रित भएको र यसो गर्न नहुने बताए। ‘बैठक चुनावको समीक्षामा मात्र केन्द्रित भयो। हामी युवा केन्द्रीय सदस्यहरूले बैठकलाई त्यतिमा मात्र सीमित गर्नु हुँदैन भनेका छौँ। निर्वाचनले हामी कहाँ छौँ भनेर देखायो’,उनले भने,‘तर हामी त्यो परिणाममा के कारणले पुग्यौँ भन्नेबारे हामीले विश्लेषण गर्‍यौँ। निर्वाचनपछि के गर्नुपर्छ भन्ने विषयलाई पनि हामीले जिम्मेवार ढंगबाट कुरा उठाएका छौँ।’

पार्टीका केन्द्रीय सदस्यहरूले अब एकतावद्ध भएर जानुपर्ने बताएको प्रवक्ता शर्माले बताए। उनले भने, ‘कुनै साथीले पराजयको कारण वाम एकतालाई लिनुभएको छ। कसैले नेतृत्वका कारण भन्नुभएको छ। कसैले निर्वाचनमा भ्रातृ संगठनलाई परिचालन गर्न नसकेको आएको छ। तर सबैको मूल कुरा चाहिँ अब एकतावद्ध भएर अघि बढ्नुपर्ने भन्न् हो।’

प्रवक्ता शर्माले सबै केन्द्रीय सदस्यबाट निर्वाचनका पराजयको विषयमा धारणा आएको बताए। उनका अनुसार कतिपय केन्द्रीय सदस्यले निर्वाचनमा पराजित भएसँगै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषय पनि ल्याएको बताए। उनले भने,‘पक्कै पनि रोगका विषयमा कुरा गर्दै गर्दा उपचारको विधिका बारेमा पनि खोजि भइनै हाल्छ। त्यसकारण समीक्षा भन्दै गर्दा अब कसरी अगाडि बढ्ने भन्ने विषय त आइहाल्छ।’ आफूहरू एकतावद्ध भएको सन्देश दिएर बैठक सक्ने प्रवक्ता शर्माले बताए।

केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरिरहँदा सभापति देउवाले गम्भीर मुद्रामा सुनिरहेको एक केन्द्रीय सदस्यले बताए। ‘सभापतिज्यूले घोसेमुन्टो बनाएर सनिमात्रै रहनुभयो,’ उनले भने, ‘अब नेतृत्व कसरी बढ्छ भन्ने कुरामा अन्योल छ।’

बैठकमा युवा नेताहरूले नेतृत्व परिवर्तन, महासमितिको बैठकको माग, कांग्रेस सुधारको मागलगायत लिखित प्रस्ताव सभापति देउवालाई बुझाउने बताइएको थियो। तर, अहिलेसम्म उनीहरूले प्रस्ताव बुझाएका छैनन्। बैठकको अन्तिमतिर प्रस्ताव देउवालाई बुझाउने युवा केन्द्रीय सदस्य पौडेलले बताए। उनले भने,‘समग्रमा हामीले बोलेकै कुरा प्रस्तावमा समेटेका छौँ। हामीले बैठकको अन्तिम दिन बुझाउने तयारी गरिरहेका छौँ।’

नेपाली कांग्रेसमा अहिले ८१ केन्द्रीय सदस्य छन्। त्यसमध्ये केन्द्रीय सदस्य खुमबहादुर खड्काको गत चैत १६ गते उपचारको क्रममा निधन भएको थियो। त्यस्तै चार जना सदस्य मनोनित गर्न बाँकी छ। चार जनामध्ये एक जना दलित सदस्य मनोनित हुन्छन् भने तीन जना खुल्ला सदस्य मनोनित हुने छन्। यस्तै, चुनावअघि मात्र फोरम लोकतान्त्रिकको कांग्रेसमा एकीकरण भएसँगै १० जना आमन्त्रित केद्रीय सदस्य रहने छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष वियजकुमार गच्छदारले सात जना आमन्त्रित सदस्यको नाम पठाइसकेका छन्। अब तीन जनाको नाम पठाउन बाँकी रहेको कांग्रेस केन्द्रीय कार्यालयको सचिवालयले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक बुधबार साँझसम्म सकिने छ। शर्माले भने, ‘आज पनि साँझसम्म बैठक बस्छ। भोलि दिनभरि छलफल भइसकेपछि पर्सि साँझसम्ममा एउटा नष्कर्षक साथ बैठक टुंगिने सम्भावना छ। यद्यपी ठ्याक्कै समय अवधि नतोकौँ। एकतावद्ध सन्देश दिने गरि रफतारका साथ अघि बढिरहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.