|

भद्रपुर (झापा)  : हाइटेन्सन बिजुलीको तारले दक्षिणी झापाको बनियानी बजार क्षेत्र असुरक्षित बन्दै गएको छ। बजार क्षेत्रमा अग्ला घर तथा भवन निर्माण हुन थालेपछि घरसँंगै जोडिएर लगिएका सडक छेउका हाइटेन्सन बिजुलीको तारले सो क्षेत्र असुरक्षित बन्दै गएको हो। 

बजार क्षेत्रबाटै हाइटेन्सन बिजुलीको तार लगिएपछि छ महिनाको अवधिमा बनियानी बजारमा तीन जना मजदुर करेन्ट लागेर घाइते भएका छन्। यसै क्रममा सोमबार दिउँसो हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर कचनकवल गाउँपालिका -२ स्थित दुर्गाभिट्टा निवासी अन्दाजी ४० वर्षीय टीकाराम भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

करेन्ट लागेर भण्डारीको दाँहिने हात जल्नुका साथै शरीर र खुट्टामा गम्भीर चोटमा लागेको प्रहरीले जनाएको छ। हाल उनको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ। कचनकवल ६ बनियानी बजार निवासी तीर्थ दाहालको निर्माणाधीन घरमा रंग लगाउँदै गरेको अवस्थामा भण्डारीलाई सडक छेउको हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेको प्रत्यक्षदर्शी मजदुर पुजन ढुंगेलले बताए।

बाँसको सिढीमा चढेर घरको भित्तामा रंग लगाउँदै गरेको अवस्थामा उनलाई सडकको हाइटेन्सन तारले भेटाएर शरीरमा आगो लागेको उनले बताए। असोजमा दाहालकै निर्माणाधीन घरमा प्लाष्टर काम गरिरहेका सोही बिजुली तारबाट करेन्ट लागेर दुई मजदुर घाइते भएका थिए। 

कचनकवल गाउँपालिका-६ का ३० वर्षीय बासिलाल राजवंशी र २५ वर्षीय मोहन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। एउटै घरमा दुई पटक मजदुरलाई करेन्ट लाग्दासमेत सम्बन्धित घरधनी र निकायले यसतर्फ कुनै चासो नदेखाउँदा लापरवाही बढ्न थालेको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.