म घर आएको देखेर
सात पल्ट भुक्यो आफैँले पालेको कुकुर
हर्किए गोठका बस्तुभाउ
करेसाबारीको तुलफूलमा पुतलीहरू आएनन्।
शङ्का गर्यो घरको तगारोले- मेरै छायामा।
"तँ को होस् ! अनुमतिबिना किन पसिस् भित्र?"
हकारे चुलो, अँगेनो, सिकुवा र बार्दलीले।
त्यस दिन जंगलका वनफूलहरूले चिनेनन्
काँडाले मेरो पैँताला घोच्यो र माफी मागेन
घामकिरी आएर बस्यो पिठ्यूँमा
तर सुमसुम्याएन घमौराहरूमा।
सधैँ बतासले पातमा संगीत कुँद्थ्यो
म, जीवनका गीत सुसेल्थेँ
खोला-झर्नाहरू मेरो जीवनमा हरियो भरिदिन्थे
त्यस दिन यी सारा कुरा केही भएनन्।
मेरा कुलदेवताले उल्टो वायु चलाए
मैले रगत छादेँ
केटाकेटीहरू मलाइ देखेर तर्संदै भागे
वृद्धहरूले मेरो लागि आशीर्वचन बोलेनन्।
मेरो पदचाप थाहा पाएपछि
गाउँलेले झ्याल-ढोका थुने
आग्लो लगाए
सास रोक्दै चाल मारेर बसे।
भोलिपल्टको एकादशी मेलामा
सँगै जाऔँ कसैले भनेनन्।
ए मालिक,
हजुरको बास्ना आइरहने
हजुरले दिनुभएको एडिडसको पुरानो जुत्ता
मार्बल चुरोटले थुप्रै प्वाल पारिदिएको
हजुरकै पुरानो नर्थफेसको ज्याकेट
आफुलाई नसुहाउने भएपछि मलाइ 'ला' भनी दनिुभएको
छालाको ह्याट लागाएपछि
स्वाभिमानको ऐनामा आफ्नै अनुहार नचिन्ने गरी
बुख्याँचा भएछु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।