|

पर्वत : म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका अधिकाँश घरहरु हिजोआज भरीभराउन देखिन्छन। 

तातोपानीमा खोलिएका होमस्टेहरुलाई पनि यो बेलामा भ्याई नभ्याई भएको छ। प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न पुग्नेहरुका कारण तातोपानीका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ भएका हुन्।

तातोपानीमा रहेका झण्डै एक सय ५० घरधुरीका होमस्टे र १० ओटा ठूला होटलहरु हरेक वर्ष यही सिजनमा कुण्डमा स्नान गर्न जानेहरुको कारण भरीभराउन हुने गरेका छन्। तातोपानीमा रहेका सबै जसो घरमा कुण्डमा डुब्न आउनेहरुको लागि होमस्टेको सुविधा छ।

कुण्डकै कारण होमस्टेलाई व्यवस्थित र होटलको क्षमता विस्तार गर्ने क्रम बढी रहेको तातोपानी होटल व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए। केसी भन्छन, ‘यहाँको कुण्डले विरामीहरुको रोक मात्रै निको बनाएको छैन, यहाँको सामाजिक विकास र आर्थिक कारोबारमा समेत उल्लेख्य रुपमा सहयोग पुर्‍याएको छ।’ हिमालयन गेष्ट हाउसका सञ्चालकसमेत रहेका केसीले तातोपानीमा स्नान गर्न र रोग निको पार्न डुब्न आउनेहरुको लागि म्याग्दी खोलाको माछा विशेष रोजाइमा पर्ने गरेको बताए। 

होमस्टेमा आफैँ खाना पकाएर खान मिल्ने गरि कोठाहरुको व्यवस्थापन गरिएको छ। परम्परागत रुपमा चल्दै आएका होमस्टेहरुलाई समेत व्यवस्थित गर्ने क्रम बढ्दै गएका कारण कतिपय होमस्टेहरु होटलमा परिणत भैसकेका छन्। 

प्राकृतिक तातोपानी कुण्डमा जमिनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने पानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाउने र नियमित नुहाउनाले ग्याष्ट्रिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोगहरु निको हुने जनविश्वासले देशका विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन।

कुण्डमा पुगेर स्नान र डुबेर उपचार गराउनेहरुबाट लिइने शुल्कले समग्र तातोपानीको विकासमा कोशेढुंगा सावित हुँदै आएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए। 

कुण्डमा ११ दिन डुबेको दुर्इ सय रुपैयाँ शुल्क लिने गरिएको छ। कुण्डमा आउनेबाट लिइने शुल्क र रोग निको भएर फर्कनेहरुले स्वच्छिक रुपमा दिने सहयोग रकमलाई स्थानीय सरस्वती मावि सञ्चालनमा खर्च गर्ने गरिएको छ। प्रावि दरबन्दी मात्र रहेको उक्त विद्यालयका निमावि र मावि तहका १२ जना शिक्षकहरुलाई कुण्डबाट आएको रकमले तलब खुवाउने गरिएको पनि अध्यक्ष शाक्यको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.