नेपाली साहित्यको सर्वोत्कृष्ट पुरस्कार मदन पुरस्कार प्राप्त हुँदा म अत्यन्तै खुसी छु। आमधारणा जस्तै मेरो पनि धारणा थियो कि राजधानीबाट दिइने र कतिपय मोफसलका पुरस्कार, सम्मानमा पहुँच र सम्बन्ध जरुरी हुन्छ। तर मेरो धारणा परिवर्तन भएको छ- अझै पनि निष्पक्ष र स्वतन्त्र निर्णय गरिँदोरहेछ। खासमा मेरो कुनै पहुँच र सम्बन्ध नभएको अवस्थामा मेरो कथाकृति 'ऐना'लाई मदन पुरस्कार दिइएको छ। त्यसमा पनि यो मेरो पहिलो कथाकृति हो। यद्यपि, यसका बारेमा पनि नकारात्मक टीकाटिप्पणी होलान्, विगतमा झैँ विवाद पनि उठ्लान्, तर एउटा पछाडि परेको क्षेत्रको स्रष्टाले लेखेको, त्यहीँका सुदूर र विकट अनि दुःखका वस्तीका कथाले पुरस्कृत हुने अवसर पाएको छ, यो आफैँमा सुखद र खुसीको कुरा हो।
मेरो सन्दर्भमा भन्दा मेरो कृति 'ऐना' बजारमा आएपछि नै पाठकहरूले मनपराइदिनुभएको हो। उहाँहरूको जे आशा थियो, त्यो मदन पुरस्कार गुठीले यथार्थ बनाइदिएको छ। म भन्दा बढी मेरा आदरणीय पाठक खुसी हुनुभएको छ जस्तो लाग्छ, यसबाट।
यसपटक मदन पुरस्कारका लागि मनोनित सबै कृति उत्तिकै सशक्त थिए। सबै राम्रा सर्जक हुनुहुन्थ्यो। यद्यपि, एउटालाई पुरस्कृत गर्नुपर्ने हुँदा मेरो कृति छानिएछ। मलाई लाग्छ, मेरो कृतिमा जनसाधारणका अतिसामान्य विषय प्रस्तुत भएका छन्। सुदूरपश्चिमका दुःख र पीडा अभिव्यक्त भएका छन्। किनारीकृतका व्यथा छन् र समाजमा दबिएका, पिछडिएका वर्ग र समुदाय अनि व्यक्तिका कथा व्यथा छन्। यही भएर छनोट समितिले मेरो कृतिलाई पुरस्कारका लागि योग्य ठानेको हुन सक्छ। अर्को कुरा, मान्छेलाई दुःखले छिटो छुन्छ र त्यो चीरस्थायी पनि हो। यही भएर पनि मेरो कृति छनोटमा परेको हुन सक्छ। म छनोट समितिप्रति आभारी छु।
यस प्रतिष्ठित पुरस्कारले मलाई अझ सक्रिय, जिम्मेवार र गतिशील भएर साहित्य लेखनमा लाग्न प्रेरणा मिलेको छ। अब मेरै क्षेत्र, सुदूरपश्चिमको जनजीवन, भोगाइ र परिवेशलाई विषय बनाएर एउटा उपन्यास लेख्ने सोचाइ छ।
प्रस्तुति : घनेन्द्र ओझा
तपाईंको ईमेल गोप्य राखिनेछ ।