आजैबाट भोटिङ खुला

|

काठमाडौैं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आइरहेको पल्सर स्पोर्टस अवार्डको महत्वपूर्ण विधाका रूपमा रहने पिपुल्स च्वाइस विधामा सन्दीप लामिछानेसहित पाँच खेलाडीको मनोनयन सार्वजानिक गरिएको छ।

आयोजकले बुधबारबाटै भोटिङ खुला रहने जनाएको छ। पिपुल्स च्वाइसका लागि छनोट भएका पाँच खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ रहेका छन्। २०७४ सालभरि गरिएको प्रदर्शन र चर्चाको आधारमा फरक खेलका पाँच खेलाडीलाई यो विधामा भोटिङका लागि खुला गरिने गरिएको छ। बढी भोटका आधारमा अवार्ड वितरण कार्यक्रमका दिन नाम घोषणा गरिने आयोजक मञ्चले जनाएको छ।

यो वर्ष मिनेरवा पञ्जाब एफसीलाई भारतको आई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण वर्षभरि चर्चामा रहेका थिए। त्यस्तै, भलिबल टोलीका नियमिति सदस्य मानबहादुरले घरेलु प्रतियोगितामा उच्च प्रदर्शन गरे भने आर्मीलाई पाँच उपाधि दिलाउन उनको प्रदर्शन निर्णायक रहेको थियो। त्यस्तै, नेपाली नम्बर एक महिला गल्फर रहेकी प्रतिमा पनि व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिलाका रूपमा रहेकी थिइन्। साथै उनले विभिन्न उपाधिसमेत जितेकी थिइन्।

सन्दीपको चर्चा भने वर्षभरि जारी छ। नेपाललाई एकदिवसीय मान्यता प्राप्तका लागि उल्लेख्य योगदान दिएका सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्समा तथा क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा आबद्ध हुने पहिलो खेलाडीका रूपमा समेत रहे। उनले २०७४ सालमा कुल ८६ विकेट लिएका थिए।

त्यस्तै, टेबलटेनिसका स्यान्टु ३९ औँ राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए। उनी टेबलटेनिसमा आशा गरिएका खेलाडी हुन्। यसअघि, एसएमएस र फेसबुक लाइक्सको आधारमा विजेता छनोट हुँदै आएको थियो। यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतलाई समेत आधार मानेर विजेता छनोट गरिने जनाइएको छ। एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ। चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ।

उनीहरूलाई २ जेठ मध्यरातसम्म भोटिङ गर्न पाउने व्यवस्था गरिएको छ। अवार्ड ३ जेठमा हुँदै छ। मञ्चका सचिव राजु घिसिङ संयोजक तथा नीरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको खेलाडी छनोट समितिले केही दिनमा अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.