|

  • बुद्ध नेपाली-

सिन्धुली : ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ। तर, अहिलेसम्म सोही भूकम्पका कारण विस्तापित भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ कोलखोलाका सात घर परिवारले सुरक्षित बास पाएका छैनन्।

भूकम्पसँगै आएको पहिरोका कारण कोलखोलाका सात घर परिवार घरबारविहीन भएका हुन्। सरकारले यस्ता भूकम्पपीडितका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्दै जग्गा खरिदका लागि दुई लाख अनुदान र घर निर्माणका लागि तीन लाख अनुदान दिने निर्णय गरेको छ। तर, ती विस्थापित परिवारले अहिलेसम्म अनुदान पाएका छैनन्।

यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीका अनुसार सात घर परिवारको जग्गा खरिदका लागि दुई लाख अनुदान रकम आइसकेको छ तर ती विस्थापित परिवारलाई भने पैसा वितरण गरिएको छैन।

विस्तापित परिवारमध्ये पाँच घर परिवारले जग्गा खरिदका लागि जग्गा छनोट गरी त्यसको पुर्जा कार्यालयमा बुझाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीका निमित्त प्रमुख बासुदेव हुमागार्इंले बताए।

बाँकी दुई घर परिवारले अहिलेसम्म जग्गा छनोट नगरेकाले ढिलो भएको उनको भनाइ छ। सात घर विस्थापित परिवारलाई नै एकैपटक रकम वितरण गर्ने भनेकाले बस्ती स्थानान्तरणमा ढिलो भएको उनको भनाइ छ। अबको एक दुई हप्ताभित्र विस्थापित परिवारलाई दुई लाख रकम वितरण गरेर सुरक्षित स्थानमा राख्ने गरी काम भइरहेको उनको दाबी छ।

उनले भनेकै समयमा विस्थापित परिवारलाई रकम वितरण गरे पनि विस्थापित परिवारको यसपालिको वर्षा पनि त्यही अस्थायी टहरामै वित्ने निश्चित छ। यसअघिको तीनवटा वर्षा र हिउँद सामुदायिक जोगीडाडाँको जंगलको अस्थायी टहरामा बिताएका कृष्णबहादुर नेपाली सरकारले सुरक्षित स्थानमा जग्गा खरिदका लागि दुई लाख दिने भनेको तीन वर्ष भए पनि अहिलेसम्म नपाएका दुखेसो सुनाउछन्।

भन्छन्, ‘अब वर्षायाम पनि सुरु हुने समय भइसक्यो। यो वर्षा पनि यही टहरामा बित्ने भो चिन्ता लागिरहेको छ।’ अस्थायी टहरमा बालबालिका हुर्काउन र दैनिकी गुजारा गर्न सारै समस्या भएको अर्का विस्तापित परिवारका हिरा रम्तेल बताउछन्।

‘ठूलो मान्छे त जसोतसो गरेर बस्छौँ। तर, यी साना बालबालिकालाई हुर्काउन नै गाह्रो हुने, पानी पर्छ चिसो लाग्छ, घाम लाग्छ पोल्छ, समस्यै समस्या छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.