|

डडेल्धुरा : घरको चुलोचौकामा मात्रै सिमित रहने डडेल्धुराका महिलाहरू पछिल्ला दिनहरूमा कृषि कर्मबाट आत्मनिर्भर बन्दै गएका छन्। 

तरकारी खेतीमा छुट्टै पहिचान बनाउन सफल जिल्लाको अमरगढी नगरपालिका-११ फिन्नेकोटमा महिलाहरुको व्यवसायीक तरकारी खेतीमा आर्कषण बढ्दो छ। कृषिसम्बन्धी भम्रण र अनुगमनकर्ताहरुका लागि 'हव स्टेसन'को रुपमा परिचित यो ठाउँमा पछिल्लो समय महिला उद्यमीहरूमा ठूलो विकास भएको पाइएको छ। 

आफूहरूले गर्दै आइरहेको तरकारी खेतीबाट आर्थिक उपार्जनमा टेवा पुगिरहेको महिला किसानहरूको भनाइ छ। तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउन पुग्नुका साथै बचतसमेत हुने गरेको उनीहरू बताउँछन्। तरकारी खेतीबाट यो क्षेत्रका महिला किसानहरू अहिले एक सिजनमा लाखौँ कमाउने गरेको छन्। 

तर, विभिन्न कृषि समूह निमार्ण गरी तरकारी खेती गरिरहेका यहाँका किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा आफूहरु मर्कामा परेको व्यससायीक रुपमा तरकारी खेती गर्दै आइरहेकी समैजी कृषक समूहकी हिरादेवी बोहरा बताउँछिन्।

ठूलो लगानीमा उत्पादन गरेको तरकारी विक्रीका लागि जिल्ला सदरमुकामसम्मै पुर्याउने गरे पनि बिचौलियाका कारण आफूहरूले उचित मूल्य नपाएको उनको गुनासो छ। 

'लामो समयदेखि विभिन्न किसिमका तरकारी लगाउँदै आएकी छु।’ उनले भनिन्, 'तर उत्पादन गरेको तरकारी बजार पाउँदैन। धेरै मेहनत गरेर तरकारी फलाउँछौं। तर,  व्यापारीहरुले उचित मूत्य दिँदैनन्।'

यस्तै सिंचाई सुविधाबाट समेत आफूहरु बन्चित भएको भूमिराज कृषक समूहकी पार्वतीदेवी बोहराको भनाइ छ। उनले सम्बन्धित निकायले समस्या समाधान गरिदिनुपर्ने बताइन्। विविध समस्याका बावजूद पनि तरकारी खेतीबाटै मनग्य आम्दानी गरिरहेको उनले सुनाइन्। आफ्नो पेशाबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन्।

‘एक सिजनमा कम जमिन हुनेले कम्तिमा ५० देखि ६० हजार रुपैयाँ कामउँछन्।’ उनले भनिन्, ‘बढी जमिनमा तरकारी फलाउनले लाखभन्दा बढी आम्दानी गर्छन्। अहिले यो क्षेत्रमा लिप्ट सिंचाइको प्रयोगबाट तरकारी खेती भइरहेको छ। तर, यसले किसानहरुको खर्चभार बढाइरहेको छ।'

अहिले मोटरको माध्यमबाट ल्याउनुपर्ने पानीका लागि प्रतिघण्टा ४० देखि ५० रुपैयाँ तिर्नु परिरहेको सोही ठाउँकी कृषक गोमादेवी बोहराले बताइन्। यस क्षेत्रका किसानहरु काक्रा, आलु, काउली, तमाटरलगायतका तरकारी उत्पादन गर्दै आइरहेका छन्।

यो क्षेत्रमा ७० जना महिलाको सहभागीतामा विभिन्न कृषक समूहमार्फत एक सय रोपनी जमिनमा तरकारी खेती गरिएको अमरगढी कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए। ‘यहाँका करिव ७० जना जति महिलाहरुको सहभागीमा एक सय रोपनीमा तरकारी फलाउँदै आएका छन्,’ उनले भने। 

जसको कारोवार वार्षिक रुपमा एक करोड रुपैयाँभन्दा बढी नाग्ने र एक सिजनमा ४० लाख रुपैयाँसम्मको कारोवार हुने गरेको उनको भनाइ छ। ‘फिन्नेकाटो पछिल्लो समयमा तरकारी खेतीले छुट्टै पहिचान बनाको गाउँ हो।’ विष्टले भने, ‘हाम्रो जिल्लामा भ्रमणमा आउने अन्य जिल्लाका कृषकहरु पनि यहाँ नै आउने गरेको छन्। अहिले यो ठाउँ कृषिका लागि ‘हव स्टेशन’ नै भएको छ।’

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत यो ठाउँका लागि ३० लाख रुपैयाँ बजेट बराबरको कार्यक्रम आएको उल्लेख गर्दै कृषि प्रसार अधिकृत बिष्टले अब किसानका समस्या समाधान हुने बताए।

यहाँ उत्पादन भएको तरकारी जिल्ला सदरमुकाम हुँदै प्रदेश-७ का अन्य जिल्लासँगै डोटीको दिपायल, सिलगढीसम्म पुग्ने गरेको छ। तरकारी खेतीमा सक्षमता पुष्टि गरेका यो क्षेत्रका महिलाले व्यवसायीक तरकारी खेतीका लागी सिंचाई सुविधा, तालिमको अवसर र कृषि प्रविधिको उचित ज्ञान पाए उल्लेख्य प्रगति गरी अझ उदाहरणीय बन्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.