|

विराटनगर : त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ केजी सुन तस्करीमा दुई प्रहरी अधिकृतसहित चार प्रहरीको प्रत्यक्ष संलग्नता देखिएपछि थप अनुसन्धान र मुद्दा दर्ता गर्न विराटनगर ल्याइएको छ। बहालवला एसपी विकासराज खनाल, डीएसपी सन्जय बहादुर राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान सन्जिव शाक्यलाई मोरङ अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो।

एसपी खनाल, बयान लिने क्रममा फरार भएका डीएसपी राउत र सई सञ्जेललाई बिहीबार मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्याद थप गरिएको हो। प्रहरी जवान शाक्यलाई बुधबार अदालत हाजिर गराइ सोही मुद्दामा सात दिनको म्याद थप गरेको छ । पक्राउ पर्ने चार जना बहालावा प्रहरी हुन्।

मकवानपुर प्रहरी प्रमुख एसपी खनाल सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो। गृह मन्त्रालको सहसचिव इश्वराज पौडलेलको नेतृत्वमा गठन भएको छानविन समितिले सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि एसपी खनाल, डिएसपी राउत र सई सञ्जेललाई थप अनुसन्धान र मुद्दा चलाउन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको हो। 

बिहीबार बिहान मोरङ प्रहरी कार्यालय आइपुगेका खनाल, डिएसपी राउत र सञ्जेललाई सोही दिन साँझ साढे चार बजे अदालतमा हाजिर गराएर म्याद थप गरिएको थियो। मंगलबार बयान लिने क्रममा फरार भएका डिएसपी राउत बुधबार छानविन समितिको सम्पर्कमा आई अदालतमा उपस्थित भएका थिए। बिहीबार एसपी खनालसहित उनी मोरङ प्रहरी आएका थिए। इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत राउत बयानकै बीच गृहबाट निस्किएर फरार भएका थिए।

प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएका सई गजेन्द्र रावलको भने तस्करीमा सघाएको प्रमाण भेटिएको छैन। उनलाई २ नम्बर गणमा नै राखिएको स्रोतको भनाइ छ। सुन तस्करमा मुख्य नाइके चुडामणि उप्रेतीलाई एसपी खनाल र सइ सञ्जेलले सघाएको प्रहरीको दाबी छ। खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएको बताइएको छ। सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए। 

३३ केजी सुन तस्करी तथा उर्लाबारीका शनम शाक्याको हत्याको संलग्नमा पक्राउ पर्ने २७ जना पुगेका छन्। बुधबार पूर्व डिआईजी गोविन्द निरौलालाई ८ दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको छ। उक्त घटनामा बहालवा प्रहरी पूर्व प्रहरी गरी ५ जना मोरङ प्रहरीको हिरासतमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.