|

पर्वत : प्रतिस्पर्धा गर्ने शिकारीको अभाव भएपछि बाग्लुङको ढोरपाटन शिकार आरक्षमा शिकार गरिने झारल र नाउरको मूल्य ह्वात्तै घटेको छ।  गत वर्षको यही सिजनमा एउटा झारलको शिकार गरे बापत शिकारी टोलीले १३ लाख र नाउरको ११ लाख रुपैयाँ राजस्व बुझाउने गरेका थिए। तर, यस वर्ष प्रतिस्पर्धी शिकारी टिमको अभावमा एउटा झारलको मूल्य एक लाख ११ हजार र नाउरको एक लाख ५१ हजार रुपैयाँमा झरेको छ।

ढोरपाटन शिकार आरक्षमा ०७४ चैत महिनामा सुरु भएको दोस्रो सिजनका लागि १० नाउर र पाँच झारलको शिकार गर्न पाउने अनुमति दिइएको थियो। अहिलेसम्म विदेशी शिकारी टोलीहरुले नौ नाउर र पाँच झारलको शिकार गरिसकेका छन्। अनुमतिअनुसार अब एक नाउर र एक झारलको शिकार गर्न बाँकी छ। तर, दोस्रो सिजनको शिकारका लागि तोकिएको समय सीमा बैशाख १५ मा सकिँदैछ। 

प्रत्येक सिजनका शिकार गरेबापत लिइने राजस्व टेण्डरको आधारमा तय गर्ने हुनाले सिजनैपिच्छे नाउर र झारलको मूल्य घटबढ हुने गरेको छ। यो सिजनमा ट्रयाक्स एण्ड ट्रेडर्स प्रा.लि कालिमाटी काठमाडौं, ग्लोबल सफारिज काठमाडौं, हिमालयन सफारिज नक्साल काठमाडौं र नेपाल वाइल्ड लाइफ ठमेल काठमाडौंमार्फत शिकारी टोलीहरु ढोरपाटन शिकार आरक्षमा आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.