|

काठमाडौं : एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन भएको छ। गतवर्ष तेस्रो हुँदै पहिलो अन्तराष्ट्रिय पदक भित्र्याएको नेपाल योपटक चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो।

शुक्रबार बंगलादेशको मिरपुरस्थित शहिद शुरवर्दी इन्डुअर स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुगेको थियो। किर्गिस्तानविरुद्ध सुधारिएको प्रदर्शन गरेको नेपालले जित भने सम्भव बनाउन सकेन। योसँगै नेपाली भलिबलको पदकका रूपमा गत वर्ष मााल्दिभ्मा भएको प्रतियोगिताबाट जितेको कांस्य पदक नै रहेको छ।

गतवर्ष माल्दिभ्समा चार टोली सम्मिलित प्रतियोगितामा तेस्रो बन्दा नेपालले ६ टोली सम्मिलित यस प्रतियोगितामा चौथो स्थान हात पारेको हो। पहिलो सेटमा केही कमजोर प्रदर्शन गरेको नेपालले दोस्रो र तेस्रो सेटमा प्रतिस्पर्धात्मक खेल खेले पनि जित निकाल्न भने असफल रह्यो।

पराजयपछि नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले प्रतियोगितामा उपाधि जित्ने लक्ष्यकासाथ आए पनि सम्भव नभएको बताए। उनले बंगलादेशसँगको उद्घाटन खेल गुमाएसँगै खेलाडीको मनोबल मािथीउठ्न नसक्दा निरन्तर पराजय व्यहोरेको बताए। नेपाली टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ प्रतियोगितामै उत्कृष्ट स्पाइकर घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.