|

इलाम :  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली एपीएफ र थ्रीस्टार आमनेसामने हुँदैछन्। ठूलो टुँडिखेलमा अपराह्न ३ बजेपछि सुरु हुने खेलमा यी दुई टोली माईभ्याली गोल्डकपका उपविजेता समेत हुन्।

थ्रीस्टार पहिलो संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित हुँदै उपविजेता बनेको थियो भने एपीएफ दोस्रो संस्करणमा झापासँग हारेर उपविजेता बनेको हो । 

सन् २०१८ को सिजनमा एपीएफ र थ्रीस्टार पाँचौ पटक भिड्न लागेका हुन्। पछिल्लो चार भेटमा तीन खेलमा थ्रीस्टार विजयी भएको थियो । नारायणघाटमा सम्पन्न १३ औ विकास रनिङ शिल्डमा भने एपीएफ १–० ले विजयी बन्दै उपाधि चुम्न सफल भएको थियो ।  झापामा सम्पन्न तेस्रो रमपम झापा गोल्डकपको थ्रीस्टारसँग १–० ले पछि पर्दै एपीएफ क्वार्टरफाइनलबाट बाहिरिएको थियो । १६ औ आहारारा गोल्डकपमा समेत ट्राइबेकरमा ५–३ ले हराउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको थियो। 

थ्रीस्टार विमल घर्ती मगर, निराजन खडका, सुनिल बल, एलन न्यौपाने, तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिँदैछ भने एपीएफको तर्फबाट रञ्जन बिष्ट, रुपबहादुर लामा, नवीन लामा, आदित्य चौधरी र युवराज खड्का लगायत खेलाडी सहभागी हुँदैछन्।

यसअघि शुक्रवार पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीको चुनौती १–० ले पन्छाउँदै मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरिसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.