|

इलाम : इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल समिकरण पूरा भएको छ। शनिबार सम्पन्न अन्तिम सेमफिाइनलमा थ्री स्टारले विभागीय टिम एपिएफलाई २–० गो अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो।

फाइनलमा प्रवेश गरेसँगै थ्री स्टारले उपाधिका लागि मनाङ मस्र्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। 

कप्तान निराजन खड्काको पासमा एपिएफका गोलरक्षक राजु नगरकोटीलाई बिट गराउँदै बिमलले गोल गरे। गोल भएको २ मिनेट नबित्दै विवाद भएपछि जर्सी खोलेर मैदान बाहिर गएका एपिएफका आदित्य चौधरीलाई रेफ्री नविन्द्र मर्हजनले पहेलो कार्ड दिएका थिए।

पहिलो हाफमा निकै नै दबाबमा परेको एपिएफ दोस्रो हाफमा फर्कने प्रयास गरेको थियो। एपिएफका खेलाडीहरुले गरेको राम्रा प्रहारहरु गोलरक्षक एलन न्यौपानेले बचाएका थिए। दोस्रो हाफको ९०औँ मिनेटमा अफ्रिकन खेलाडी अजय मार्टिनले अग्रता दोब्बर बनाए। विमलको पासलाई किपर विट गराउँदै मार्टिनले जाली चुमाएका थिए। 

खेलको म्यान अफ द म्याच थ्री स्टारका विमल घर्ती मगर घोषित भए। उनले नगद १० हजारसहित चाँदीको मेडल प्राप्त गरे। बैशाख १७ गते  सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद छ लाख ६६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद चार लाख प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछ भने विभिन्न विधाका खेलाडीहरुले नगद २५ हजार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.