|

काठमाडौं : 'मनसुन' विमोचनको बिहान काठमाडौंको मौसम फरक थियो। बिहान ११ बजेदेखि काठमाडौंमा ठूलो झरी दर्किएको थियो। तर, त्यसको केही समयपछि प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक,कलाकार र पाठक भेला हुँदा मनसुन बदलियो। 

झरी रोकिएको थियो। तर, 'मनसुन' सुरु भएकै थिएन। यहीबीच गायक प्रमोद खरेलले फिल्म 'छक्कापञ्जा' को 'देख न चम्पा सुन न चम्पा, हम्रा त तम्रा बाहेक को छ र? …' बोलको गीत सुनाए। यसपछि, कार्यक्रम उद्घोषक पत्रकार सविना कार्कीले स्टेज छोडेर जानै लागेका प्रमोदलाई रोकेर लेखक सुविन भट्टराईलाई बोलाइन्। अनि सुरु भयो 'मनसुन' को घुम्टो खोल्ने काम।

'समर लभ' र 'साया' जस्ता माया प्रेमले भरिएका उपन्यास मार्फत विशेषत: युवा/युवती पाठकले निकै रुचाएका सुविन आफ्नो तेस्रो उपन्यासको घुम्टो खोल्दा भने अलि 'नर्भस' थिए। नर्भस नहुन् पनि किन! उनलाई सयौं तन्नेरी पाठकले जो व्यग्र रुपमा पर्खिरहेका थिए- नयाँ प्रेम प्रसंग भएको राम्रो उपन्यास सहित आउलान् भनेर।

सुविन र प्रमोदले उपन्यास विमोचन गरिरहँदा पत्रकारले मात्र क्यामेरा सोझ्याएनन्, डबलीमा उपस्थितले मोबाइलको क्यामेरामा कैद गरे त्यो पल। अनि पालो आयो सुविनको लेखकिय अनुभव सुनाउने। सुरुदेखि नै 'नर्भस छु' भनेका सुविनले 'यो उपन्यासमा पनि 'समर लभ' र 'साया' को जस्तै माया प्रेमको कथा रहेको बताए। 'अनि फरक के त?' भन्ने दर्शकको मनमा कौतुहलता लागेको कुरा बुझेझैँ गरी उनले भने- 'ती दुईमा भएको माया प्रेम कलेजको थियो यसमा कलेज बाहिरका पात्रको माया-प्रेम छ, विमोचनमा सबै नभनौं, हा हा…!'

सुविनले आफू 'मनसुन'को प्रमुख पात्रसँग बढी नै घुलमिल भएको बताए। 'सुभान भन्ने पात्रसँग बढी घुलमिल भएको छु, त्यसैले त्यो पात्र अलि बढी नै मनपर्छ।' उनले उपन्यासकी 'महिला पात्रसँग पनि हेलमेल रहेको र त्यो को हुन् भन्ने जिम्मा पाठकको भएको' बताए। उपन्यासमा भएको माया प्रेम भने 'घामपानी- घामपानी जस्तै' भएको बताए।

सुविनलाई प्रेमका उपन्यास लेख्न के ले प्रेरित गर्‍यो ?  'त्रिचन्द्र क्यामपसमा पढ्दा केटीलाई एकोहोरो प्रेम गर्नेहरुको संगठन थियो 'ओस्ला' -वान साइडेड लभर्स एसोसिएसन! जसमा केटीहरुलाई एकोहोरो प्रेम गर्ने केटाहरु सदस्य थिए। ति मध्ये एक वान साइडेड लभर म नै थिएँ। तिनै कुरालाई कल्पनामा ढालेर र केही वास्तविकता अनि साथीसंगतिका अनुभवको लेप लगाएर उपन्यास लेख्ने गरेको छु।' कारण उनले आफैँ खुलाए। 

आकाशे मौसम रोकिएको छेको पारेर सुविनको 'मनसुन' हातमा लिएका पाठक किताब किन्न र लेखकको हस्ताक्षर लिन तल्लिन थिए। पाठकप्रति सम्मान दर्शाउन  सुविन पनि के कम,उनी भन्दै थिए,'पाले पुण्य मारे पाप लाग्ला, आजदेखि 'मनसुन' तपाईहरुकै जिम्मा भयो!' 

फाइन प्रिन्टले प्रकाशन गरेको सुविनको २५४ पृष्ठको 'मनसुन' को मूल्य ३१८ रुपैंया छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.