मनोरञ्जन

डमरूको डन्डिबियो : कमजोर स्क्रिप्टमा उत्कृष्ट कन्सेप्ट
SHARES

बैशाख २५, २०७५

    सामान्य ज्ञानका पुस्तकमा लामो समयसम्म डण्डीबियो नेपालको राष्ट्रिय खेल भनेर लेखियो। तर, कहिल्यै यस खेललाई व्यवस्थित गर्ने र प्रवर्धन गर्नेतर्फ सरकारले ध्यान दिएन। गत वर्ष जेठ ८ गते मन्त्रिपरिषद् बैठकको निर्णयले डण्डीबियो खेलका सबै पारखीहरुलाई स्तब्ध बनायो। यस दिन अमेरिकाबाट विकसित भएको भलिबलले नेपालको राष्ट्रिय खेल घोषित हुने सुअवसर पायो। नेपाली मौलिक खेलको मर्ममाथि प्रहार भयो।

    डण्डीबियोको अवस्था अहिले के छ ? नेपालको मौलिक खेलबारे न त खेलकुद परिषद्लाई चासो छ। न खेलकुद मन्त्रालय न त खेलकुद पत्रकारहरुलाई नै। कुनै समय टुडिँखेलमा अन्तर्राष्ट्रिय स्तरका डण्डीबियो प्रतियोगिता हुन्थेँ। तर, यस्तो इतिहास खोज्ने चिन्ता कसैले लिएका छैनन्।

    छेटेन गुरुङको निर्देशनमा बनेको फिल्म डमरुको डण्डीबियोले यहीं खेलको खोजी गरेको छ। यस कार्यको जतिसुकै सराहाना गरेपनि कम हुन्छ।

    पुरानो खेललाई नेपाली सिनेमाको नयाँ कन्सेप्टका रुपमा विकास गरिएको छ। यसबाट डण्डीबियो खेल त लाभान्वित हुने नै भयो। नेपाली सिनेमा जगतकै उचाइ बढ्ने अवस्था पनि थियो। तर कमजोर स्क्रिप्टका कारण चलचित्र सामान्य मात्रै बन्यो।

    कथावस्तु

    जब सरकारले डन्डीबियोलाई राष्ट्रिय खेलबाट हटाउँछ। त्यसपछि यस खेललाई स्थापित गर्ने उद्देश्यले फिल्मको मुख्य पात्र डम्बर गाउँ फर्कन्छ। कुनै अन्तर्राष्ट्रिय खेल बनाउने लक्ष्यका साथ अहोरात्र डण्डिबियोमा लागेको डम्बरको बाबु योगेन्द्रलाई आफ्नो लक्ष्यप्राप्तिमा असफल हुँदाको पीडा छ।

    लोकसेवाको तयारी गर्न छाडेर उ खेलको प्रवर्द्धनमा लागेको थियो। अन्त्यमा, कसैले सहयोग गरेनन्। निजामती कर्मचारी बन्ने रहर समाप्त भएपछि उ गाउँको हेडमास्टर बन्यो। योगेन्द्र चाहन्छ, अब छोरा निजामती सेवामा जाओस् र मन्त्रालयको सचिवसम्म बनोस्।

    योगेन्द्रकै चाहनाअनुसार डम्बरले राम्रो अंक ल्याएर मास्टर्स गरेको हुन्छ। तर डम्बरको लक्ष्य फेरिएपछि दुई बाबु–छोराबीच द्वन्द्व सुरु हुन्छ। अनि कथा अघि बढ्छ। डम्बर र मालाबीचको प्रेम, मुखियासँगको डम्बरको मित्रता तथा प्रेम र मित्रतामा देखिएको त्याग र समर्पणको भावनाले फिल्मको कथावस्तुलाई जिवन्त बनाउँदै लगेको छ।

    सकारात्मक पाटो

    विशुद्ध मौलिक कथावस्तुमा तयार भएको फिल्म हो। खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्कालगायत सबै कलाकार अभिनयमा अब्बल देखिएका छन्। त्यसका लागि निर्देशक छेटेन गुरुङसँगै कास्टिङ डाइरेक्टर नृपेश रुपाखेती बधाईका पात्र हुन्। मेनुका र बुद्धि तामाङको अभिनय विशेष छ। अनुप बराल र खगेन्द्र लामिछानेको अभिनयले निराश पार्ने कुरै भएन।

    क्यामेरा, साउन्डलगायतका प्राविधिक पाटो सन्तोषकजनक छ। एडिटिङ केही लुज देखिन्छ। मध्यान्तर हुनअघि र फिल्म समाप्ति पूर्व लम्ब्याइएका केही दृश्यहरु अनावश्यक लाग्छन्।

    नकारात्मक पाटो

    खगेन्द्र लामिछाने समीक्षकहरुको नजरमा संभावना बोकेका लेखक हुन्। उनी जति राम्रो कलाकार हुन्। त्योभन्दा राम्रो लेखक भनेर चिनिएका छन्। तर, यस फिल्ममा उल्टो छ। अभिनय राम्रो छ। तर, कथा लेखनमा आफूमाथिको अपेक्षालाई न्याय गर्न सकेका छैनन्। फिल्ममा प्रयोग भएका संवाद भने सरल र क्याची छन्।

    पहिलो हाफ निकै राम्रो छ। दोस्रो हाफपछि फिल्म खस्कन्छ। प्लटमा ठूलो कमजोरी छ। भिडियो भाइरल भएपछिको अवस्थामा फिल्मको कथा कता बढ्छ भनेर दर्शकले सहजै अनुमान लगाउन सक्छन्।

    यस्तो लाग्छ कि मध्यान्तरमै फिल्म उच्चविन्दुमा पुगिसकेको छ। त्यसपछि कथावस्तुमा द्वन्द्व छैन। प्राविधिक रुपमा यो त्रुटिपूर्ण देखिएको छ। योगेन्द्रसँग बदला लिन तम्सिएको चियापसले काशिरामले छोरीलाई उसैको टिमविरुद्ध उक्साएको दृश्यसम्म ठीक छ।

    तर, यसपछि जसरी नयाँ शिराबाट कथाको नयाँ सिक्वेन्स सुरु हुनुपर्ने थियो। मुख्य द्वन्द्वमा फिल्म प्रवेश गर्नुपर्ने थियो। त्यसैमा कथाकार चुकेका छन्।

    देखाउन नचाहेका दृश्य

    फिल्मले योगेन्द्रको डण्डिबियोप्रतिको प्रतिबद्धतालाई जुन उचाइमा उठाएको छ। त्यो अनुपातमा पुष्टि हुनेगरी उनी ब्याक हुनुको कारण खुलाइएको छैन। सरकारले सहयोग नगरेको वा दुनियाँले पागल भनेकै आधारमा एउटा प्रतिबद्ध व्यक्ति ब्याक हुनु स्वभाविक लाग्दैन।

    एकातर्फ, डण्डीबियो खेलेर आँखा फुट्छ र चोट लाग्‍नसक्छ भन्‍ने खतरा फिल्ममा औंल्याइएको छ। अर्कोतर्फ, गाउँमा सबैले टाउकोमा हेल्मेट नलगाई खेल्छन्। जब उनीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्छन्। त्यतिबेला भने सहभागिताहरुको टाउकोमा हेल्मेट देखिन्छ। डण्डिबियोको नियम बुझाइएको फिल्ममा, हेल्मेट नलगाइ खेल्दा आउने खतरा पुष्टि गर्नसक्ने दृश्यहरु पनि आवश्यक थिए। 

    सुझाव

    फिल्ममा त्यस्तो टोलीले जित्छ, जसका सदस्य नै अन्तर्घातमा लागेका छन्। टिम भावनाले सबैभन्दा ठूलो अर्थ राख्‍ने खेल क्षेत्रमा यस्तो टोलीले उपाधि जितेको घटना सकारात्मक हुनै सक्दैन। आफ्नै टिमविरुद्ध लाग्‍ने खेलाडी त कारबाहीको भागिदार पो हुनुपर्ने हो।

    बरु, टिमका अन्य सदस्यले अन्तर्घातबारे थाहा पाएपछि आफ्नो गल्ती स्विकार्दै फेरि टिममा फर्किएर योगदान गरेको घटना देखाउन सकेको भए त्यसले सकारात्मक सन्देशसँगै फिल्मलाई पनि मनोरञ्जनात्मक बनाउने थियो।

    अन्तर्घातका कारण टोलीमा देखिएको विचलन र विभाजनलाई मुख्य द्वन्द्वका रुपमा प्रस्तुत गरेर टोलीमा पुरानै आत्मविश्वास फर्काउन गरिएको संघर्ष  देखाउनुको सट्टा कथाकारले खेलमात्रै देखाएर समय टार्न खोजेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]