|

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेकामध्ये शुक्रबारसम्म पाँचजना अभियुक्तको मात्र बयान सकिएको छ।

जिल्ला अदालत मोरङमा बिहीबारदेखि छ जना अभियुक्तको बयान लिने क्रममा पाँच जना अभियुक्तको मात्र बयान पूरा भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए। 

‘पहिलो लटमा ६ जना अभियुक्तको बयान सुरु गरिएको थियो,’ दुलालले भने, ‘बयान लामो भएकोले एकजनाको बाँकी छ। बाँकी रहेको अभियुक्तको बयान आइतबार हुनेछ।’ मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माले बयान लिन सुरु गरेका हुन्।

शुक्रबार मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको स्रेस्तेदार दुलालले जानकारी दिए। समय अभावले गर्दा टेकराज मल्ल ठकुरीको बयान बाँकी रहेको र उनको बयान आइतबार हुने बताइएको छ। ठकुरीको बयान सकिएपछि थप पाँचजना अभियुक्तको बयान सुरु गरिनेछ। 

अभियुक्तमध्ये टेकराज, मोहन, नरेन्द्रलाई प्रहरीले शनम शाक्यको शवसहित १९ फागुनमा प्रहरीले विराटनगरबाट पक्राउ गरेका थिए। बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जनामध्ये न्यायिक हिरासतमा रहेको सात जना प्रहरी अधिकारीसहित २९ जनाको बयान लिनेछन्। 

यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.