|

रुकुम : छुट्टाछुट्टै दुर्घटनामा परी रुकुममा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–४ गोतामकोटका ३२ वर्षीय कर्ण बुढा रहेकाे प्रहरीले जनाएकाे छ।

नगरपालिकाको छारेबगरबाट गोतामकोटतर्फ गइरहेको रा १ ज ५९०२ नम्बरको जीप दुर्घटनामा परी बुढाको मृत्यु भएको हाे। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। गम्भीर घाइते हुनेमा आठबिसकोट नगरपालिका-५ का २४ वर्षीय भुपेन्द्र विक र वडा ४ का २३ वर्षीय प्रजित विक रहेका छन्। घाइते दुवैलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

त्यस्तै मकै छर्न लगिरहेेका हल गोरु जुध्ने क्रममा गाेरुले धकेलेर आठबिसकोट नगरपालिका नाैका ४८ वर्षीय बीरजंग बिष्टकाे मृत्यु भएको छ। 

गोरु लिएर मकै रोप्न हिडेका बिष्टले आपसमा लडिरहेका गोरु छुट्टयाउन खोज्दा स्थानीय कौवालोटे भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष तारबहादुर शाहीले जानकारी दिए। भीरमा गोरुले धकलेपछि विष्ट करिब ३०० मिटर तल खसेर घटनास्थल मै मृत्यु भएको वडा अध्यक्ष शाहीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.